खैरेनीटार-भिमाद सडकखण्ड स्तरोन्नति सुरु
दमौली, साउन ३० : तनहुँको खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ। एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको...
दमौली, साउन ३० : तनहुँको खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ। एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको हो।
बुधबारदेखि सडक फराकिलो बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले जानकारी दिए। ‘पहिलो चरणमा सडक कटिङको काम हुन्छ, त्यसपछि पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र गर्ने हो,’ उनले भने।
खैरेनीटार-भिमाद-भुमरीघाट-कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिने पौडेलले बताए। ७ करोड ४५ लाख २१ हजार लागतमा उक्त कामको ठेक्का लागेको छ।
गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौंसँग निर्माण सम्झौता गरिएको थियो। वर्षा र कोरोनाका कारण समयमै काम सुरु हुन सकेको थिएन। २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ।
खैरेनीटार-भिमाद सडकका ठाउँठाउँमा कालोपत्र उप्किएर ठूलाठूला खाल्डा बनेका छन्। खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ। शुक्लागण्डकी-७ स्याउलीबजार र म्याग्दे-५ थाङ्दीबाट भिमादको पुलसम्म सडकको दुरवस्था छ।
कतिपय स्थानमा सडकको कालोपत्र देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ। भिमाद नगरपालिकाको प्रवेशद्वारमा पनि सडकको हालत खराब छ।











