गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात
जाजरकोट, साउन ३० : द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्क रूपमा प्रयोगमा ल्याइएको छ।चालु आर्थिक वर्षको २०७८÷७९ को नीति...
जाजरकोट, साउन ३० : द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्क रूपमा प्रयोगमा ल्याइएको छ।
चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने भएको हो।
विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अहिले तीन नगर बस सञ्चालन गरिरहेको छ भने दुई एम्बुलेन्स चलाउँदै आएको छ।
सेवामा सहजता ल्याउन थप दुई नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताए। उनका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपांगता भएका व्यक्ति, सहिद परिवार र सहिद परिवारका सदस्यले यो सेवा निःशुल्क पाउनेछन्।
यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्ति र अतिविपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिइने छ।











