पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरु
पर्वत, साउन ३०ः पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा अर्गानिक चिया उत्पादन सुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक सुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी...
पर्वत, साउन ३०ः पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा अर्गानिक चिया उत्पादन सुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक सुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।
संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । साउन लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले बताए।
इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । ‘वैशाखबाटै टिप्न सुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ’, वडाध्यक्ष सुनारले भने, ‘ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।’
२०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन सुरु भएको हो।











