Kathmandu Press

मनाइयो नागपञ्चमी

काठमाडौं, साउन २९ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर...
मनाइयो नागपञ्चमी

काठमाडौं, साउन २९ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएको छ।

आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रही आएको छ। साथै चट्याङ, अग्निभय र मेघका कारण समेत पीडित हुनुनपर्ने भन्ने कुराको उल्लेख बराहलगायत पुराणमा गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
    
आजै काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरूमा नागको पूजाआजा गरी मेला लाग्ने गर्दछ।

साथै पशुपतिस्थित वासुकी मन्दिरमा  समेत यस दिन विशेष पूजाआजा गर्ने गरिएकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेकाले वैशाख पहिलो हप्तादेखि नै मूल मन्दिर बन्द गरिएको छ। जसका कारण भक्तजनले बाहिरैबाट मात्र दर्शन गर्न पाएका छन्। यस वर्ष साउनको चारवटा सोमबारसम्म पनि भक्तजन पशुपतिको मूल मन्दिरभित्र पस्न पाएका छैनन्।

नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने गर्दछन्। आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास  छ। घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ। यसै मान्यताका आधारमा खेत बारीमा नाथस्थान बनाई पूजा गरिन्छ।

नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वाससमेत नेपाली समाजमा छ।

प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्