लागूऔषधसहित काठमाडौंमा दुई र अन्यत्र तीनजना पक्राउ
काठमाडौं, साउन २९ : काठमाडौं, सर्लाही र बाँकेबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन्।काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ कपन मुस्कान चोकबाट नियन्त्रित लागूऔषध ३ सय ९९...
काठमाडौं, साउन २९ : काठमाडौं, सर्लाही र बाँकेबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन्।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ कपन मुस्कान चोकबाट नियन्त्रित लागूऔषध ३ सय ९९ थान डाइजेपाम, ३ सय ९० थान नुफिन, ४ सय थान फेनारगन र ९ सय चक्की नाइट्राभेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसांङ्खु गाउँपालिका–७ घर भएका ४२ वर्षीय बुद्ध गुरुङ र काठमाडौं कपन जोरधार बस्ने उदयपुर गढी गाउँपालिका-७ घर भएका ३० वर्षीय शिब कुमार गिरी रहेको प्हरीले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले बुद्धको कोठा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सर्लाहीको कौडेना गाउँपालिका(१ सुक्चैना बजारबाट १ किलो अवैध लागूऔषध गाँजा सहित कबिलासी नगरपालिका(७ सिरसिया बस्ने २४ वर्षीय पोष ठाकुर कबिलासीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुर बजार बस्ने २६ वर्षीय जेनिस वली र सोही ठाउँ बस्ने २३ वर्षीय बिजय चौधरी रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।











