Kathmandu Press

प्रहरी भएकाे बताउँदै कुटपिट गरी रकम असुल्ने दुईजना पक्राउ

प्रहरी भएकाे बताउँदै कुटपिट गरी रकम असुल्ने दुईजना पक्राउ

झापा, साउन २९ :  ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जना पक्राउ परेका छन्।

कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

बिर्तामोड-५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले ‘हामी सादा पोशाकका प्रहरी हौं, तपाईंको छोरा लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो, अब छोरालाई जोगाउने हो भने रु २० हजार दिनु, नभए मुद्दा हालिदिन्छौं’ भनेर धम्क्याउनुका साथै राजवंशीको साथमा भएको रु एक हजार १ सय लिएर पछि फेरि पैसा लिन आउँछौँ भन्दै गएका थिए।

सोही सिलसिलामा यही साउन १४ गते राति नयनसरीको घर पुगेका उनीहरुले उनका छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएका हौं, किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको ?’ भन्दै उप्रेतीले कम्मरको बेल्ट खोलेर विशाललगायत अन्यलाई समेत कुटपिट गरेका थिए।

पीडित राजवंशीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको निवेदनका आधारमा उप्रेती र खत्रीलाई पक्राउ गरिएको प्रनाउ थापाले बताउनुभयो। पक्राउ परेका दुवैलाई इप्रका अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको थापाले जानकारी दिए।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्