जनकपुर-भिठ्ठामोड सडकको दुर्गतिप्रति माओवादी सांसद शर्माले गराइन् सरकारको ध्यानाकर्षण
जनकपुर-जलेश्वर-भिट्ठामोड सडकको दुर्गतिप्रति माओवादी केन्द्रकी सांसद इन्दू शर्माले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
काठमाडौं, साउन २८ : जनकपुर-जलेश्वर-भिट्ठामोड सडकको दुर्गतिप्रति माओवादी केन्द्रकी सांसद इन्दू शर्माले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, व्यापारिक र पर्यटकीय महत्त्वको उक्त सडक लामो समयदेखि जीर्ण रहेको बताइन् ।
‘यस सडकमा दैनिक पचासौँ हजार मानिस ओहोरदोहोर गर्छन् । यो सडक भारत विहारको राजधानी पटना र प्रदेश–२ को राजधानी जनकपुरधामको प्रमुख प्रवेश द्वार हो,’ उनले भनिन्, ‘दशकौँदेखि जीर्ण रहेको उक्त सडक निर्माणका लागि त्यस क्षेत्रका जनताले लामो आन्दोलन र सत्याग्रहसम्म बसी एक सय करोडको लागतमा १९ किलोमिटरको उक्त सडक तीन वर्षमा सम्पन्न हुनेगरी नेपाल सरकारसँग सम्झौता भएको थियो । तर, पाँच वर्षसम्म पनि उक्त सडकको निर्माण सम्पन्न नहुनु बन्दै गरेको सडक गुणस्तरहीन हुनु व्यापक अनियमितता र भ्रष्टाचार हुनुले जनतामा ठूलो आक्रोश र निराशा छाएको छ ।’
त्यसलाई मध्यनजर गरी संसदको विकास तथा प्रविधि समितिले आफ्नो नेतृत्वमा जेठ ०७६ मा चार सदस्यीय संसदीय टोली गठन गरेको र टोलीले स्थलगल आवलोकन र निरीक्षण गरी त्यस क्षेत्रमा भएको व्यापक अनियमितता, सडक गुणस्तरहीन बनेको र भ्रष्टाचार भएको पाइएको र सडकको समस्या र त्यसको समाधानबारे प्रतिवेदन बुझाइएको उनले उल्लेख गरिन् ।
समितिले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको तर दुई वर्ष हुँदासम्म सम्बन्धित निकाय भ्रष्टाचार, अनियमितता र गुणस्तरहीन सडक बनाउनेलाई कुनै कारवाही नभएको सांसद शर्माले बताइन् ।
‘यस सडकलाई डीबीएसटीबाट अस्फाल्ट बनाउन सिफारिस गरिएको थियो,’ शर्माले भनिन्, ‘उक्त सडकमा ढिलासुस्ती गर्ने, सडक गुणस्तरहीन बनाउने, व्यापक अनियमितता र भ्रष्टाचार गर्ने निर्माण व्यवसायी, प्राविधिक र सम्बन्धित निकायमाथि छानविन गरी कारवाही गर्न सरकारसँग माग गर्छु ।’











