त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध

काठमाडौं, साउन २८ : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ।
विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्धताले केन्द्रीय क्याम्पसका विभिन्न संकायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्नेछ।
विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क) नेपालमा जोडिएको थियो।
हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयलगायत २५ वटा संघसंस्था यस सञ्जालमा आबद्ध छन्।
इडियुरोम अनुसन्धान र शैक्षिक संघसंस्थाका व्यक्तिहरूलाई विश्वका अन्य संघसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो। जस्तैस् त्रिभुवन विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापकहरू नेपालकै वा विदेशको इडियुरोम सेवामा जोडिएको अर्को विश्वविद्यालयमा पुग्दा इन्टरनेट लगायतका सेवामा स्वतस् पहुँच स्थापित हुन्छ। आफ्नो संस्थामा प्रयोग हुने पासवर्डबाट नै इन्टरनेट लगायतका सेवामा जोडिन सकिनेछ। सन् २००२ देखि युरोपबाट सुरू भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशील संघसंस्था र व्यक्तिहरूबीच इन्टरनेट लगायतका सेवामा सहज पहुँच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ। इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ।
नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित संघसंस्थाहरूलाई एक आपसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ।




-1789386172.jpg)






