महानिरीक्षक क्षेत्रीद्वारा सुनसरी जिल्ला प्रहरीको नवनिर्मित भवन उद्घाटन
सुनसरी, साउन २८ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी...
सुनसरी, साउन २८ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा सहयोग गर्ने पालिका प्रमुखहरुलाई सम्मानपत्र, उत्कृष्ट कार्य गर्ने प्रहरी तथा सहयोगीहरुलाई प्रशंसापत्र र निर्माण व्यवसायीहरुलाई कदरपत्र प्रदान गरे।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकाले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिए।
गत वर्षभन्दा यस आर्थिक वर्षमा अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई वस्तुगत एवं प्रविधियुक्त बनाउनुका साथै राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दालगायत गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्कन गर्ने गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्वारा सञ्चालित अपराध नियन्त्रण अभियानमा सहभागी हुन सबैमा अनुरोधसमेत गरे।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रहरी निरीक्षक ई. नितीनकुमार लाखेले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
सरकारको नियमित बजेटबाट कुल ९ करोड ३६ लाख ६७ हजार १ सय २० रुपैयाँ ७३ पैसाको लागतमा १६ कठ्ठा ५ धुर जग्गामा ती भवनहरुको निर्माण कार्य सम्पन्न भएको प्रहरीले जनाएको छ।
भवन उद्घाटन कार्यक्रमपछि प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालयमा सुनसरी तथा मातहत कार्यालयमा कार्यतर प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशनसमेत दिएका थिए।











