Kathmandu Press

पाँच स्थानमा सवारी दुर्घटना : सातजनाको मृत्यु 

काठमाडौं, साउन २८ : कैलाली, कास्की, कपिलवस्तु, सप्तरी र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ। कैलालीको चुरे गाउँपालिका–३ पंगाल...
पाँच स्थानमा सवारी दुर्घटना : सातजनाको मृत्यु 

काठमाडौं, साउन २८ : कैलाली, कास्की, कपिलवस्तु, सप्तरी र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ। 

कैलालीको चुरे गाउँपालिका–३ पंगाल भासुस्थित सडकमा प्रदेश नम्बर ३–०१–००२३ च ९०५९ नम्बरको जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–६ बस्ने २६ वर्षीया दुर्गा साउद र डोटी जोरायल गाउँपालिका–१ बस्ने ७ वर्षीया एलिसा खड्का छन्। दुर्घटनमा गम्भीर घाइते भएका उनीहरुको पदमा अस्पताल प्रालि अत्तरियामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक सहित ३ जनालाई सोही अस्पतालमा हुँदै थप उपचारका लागि मायामेट्रो प्रालि धनगढी पठाइएको छ। 

यसैगरी कैलालीको गोदावरी नगरपालिका–८ स्याउले चोकमा प्र३ ०१००१ ग ३७३२ नम्बरको ट्रक र म२प २१७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–११ बस्ने १५ वर्षीया बिद्या रानाको मृत्यु भएको छ।

दुर्घटनमा गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरिया हुँदै नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ बस्ने  १७ वर्षीय कृष बम सहित दुईजनाको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

कास्कीको पोखरा महानगरपालिका–२५ याम्दी पुल नजिक ग३च ८३४ नम्बरको जिपले ग१५ प ५८०२ नम्बरको मोटरसाइकलाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने ६१ वर्षीय डम्मरबहादुर छन्त्यालको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका(२ पानीधारास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ। हाल फरार सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ। 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडकमा प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वान्टेन गाडी र मे१ च ६९२५ नम्बरको पिकअप गाडी आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा पिकअप गाडीका चालक झापा दमक नगरपालिका बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका पिकअप सहचालकको भारदह अस्पताल सप्तरीमा र वानटनमा सवार खोटाङ मझुवागढी नगरपालिका–१० बस्ने ४२ वर्षीय जीवन गिरीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नेपाली सेनाको अस्पताल इटहरीतर्फ लगिएको छ। वान्टेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सुनसरीको कोसी गाउँपालिका(४ हरिपुरस्थित सडकमा प्र१–०१–००१ च ८०३५ नम्बरको गाडीको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका–२ बस्ने ५५ वर्षीय सूर्यनारायण यादवको बुधबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको विराट नरसिंह होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्