Kathmandu Press

गजेन्द्रनारायण सिंह अस्पतालमा एघार दिनदेखि पिसिआर परीक्षण बन्द

राजविराज, साउन २८ : विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ।सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका...
गजेन्द्रनारायण सिंह अस्पतालमा एघार दिनदेखि पिसिआर परीक्षण बन्द

राजविराज, साउन २८ : विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ।

सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन्। अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए।

एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उनले पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो नतिजा दिन नसकेको बताए।

’प्रदेश नं २ को अरु जिल्लामा प्रदेश सरकारले पिसिआर मेसिन दुई थान दिएको छ तर सप्तरी जिल्लाका लागि एउटा मात्रै पिसिआर मेसिन उपलब्ध गराएकाले त्यो पनि बिग्रेपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको छ,’ उनले भने। मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाले पिसिआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोभिडको स्वाब परीक्षण सञ्चालन हुन नसकेको जानकारी दिए।

दैनिक २० देखि २५ जना परीक्षणका लागि अस्पतालमा आउने गरेकामा यसरी पिसिआर मेसिन बिग्रिँदा जिल्लामा कोभिड संक्रमितको सङ्ख्यासमेत बुझ्न समस्या हुने गरेको बताइएको छ। यसअघि यही साउन १२ गते पनि पिसिआर मेसिनमा गडबडी हुँदा दुई दिन परीक्षण कार्य बन्द भएको थियो।

प्राविधिक ल्याएर मर्मत गराउँदा सञ्चालन गरिएको भए पनि केही दिन चलेर अहिले फेरि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट केही नदिने भएपछि परीक्षण सेवा बन्द भएको हो।  रासस
 

प्रकाशित मिति: १०:३६ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्