देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं, साउन २७ : काठमाडौं महानगरपालिका २९ सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा निर्माणका सामाग्री बोकेर रोकी राखेको प्रदेश न.३-०१-००६ ख ०७९७ नम्बरको टिपरमा बा.२...
काठमाडौं, साउन २७ : काठमाडौं महानगरपालिका २९ सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा निर्माणका सामाग्री बोकेर रोकी राखेको प्रदेश न.३-०१-००६ ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं सामाखुसी बस्ने सुर्खेत घर भएका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभील अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सल्यानको कालिमाटी गाउँपालिका ४ जम्बुतारास्थित सडकमा रा.१ त ४०४२ नम्बरको मिक्चर जडान ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका ३ बस्ने १९ वर्षीय खुम बहादुर वली र सोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसी रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका १२ पाँडुलेस्थित सडकमा भे.१ ख २५२६ नम्बरको गाडी अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार हाल नाम, थर, वतन, नखुलेका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य ११ जनाको नेपालगंज नर्सिङहोममा र गाडीका सहचालकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











