बुद्ध एयरको सर्वे- ४८.६२ प्रतिशत हवाई यात्रीले पाए खोप
बुद्ध एयरले गरेको पछिल्लो सर्वेक्षणमा ४८.६२ प्रतिशत हवाई यात्रीले कोभिड-१९ खोप प्राप्त गरेको पाइएको छ ।
काठमाडौं, साउन २७ : बुद्ध एयरले गरेको पछिल्लो सर्वेक्षणमा ४८.६२ प्रतिशत हवाई यात्रीले कोभिड-१९ खोप प्राप्त गरेको पाइएको छ ।
बुद्ध एयरले एक लाख २४ हजार हवाई यात्रीमाझ उक्त सर्वेक्षण गरेको थियो । तीमध्ये ६० हजार तीन सय १७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाइसकेको बताएका छन् । तीमध्ये २१.४९ प्रतिशत अर्थात् १२ हजार नौ सय ६२ जनाले पहिलो डोज लगाएको बताएका छन् । यस्तै, ४७ हजार तीन सय ५५ जनाले पूर्ण खोप लगाइसकेको बताएका छन् ।
सर्वेक्षणमा सहभागी ६३ हजार सात सय ४९ यात्रीले भने खोप लगाउन नपाएको बताएका छन् । त्यो भनेको सर्वेक्षणमा सहभागीमध्ये ५१ दशमलव ३८ प्रतिशत हो ।
सर्वेक्षणमा सहभागी आठ सय २५ जना कोरोना संक्रमणबाट निको भएका यात्री थिए भने ६२ हजार नौ सय २४ जनाले हालसम्म जोगिन सफल भएको बताएका छन् ।
१२ देखि २५ साउनसम्ममा बुद्ध एयरले आफ्ना जहाजबाट यात्रा गर्ने यात्रीलाई उक्त सर्वेक्षणमा सहभागी गराएको थियो । अघिल्लो सर्वेको तुलनामा यसपटक कोभिड-१९ विरुद्धको प्रतिरक्षा प्रणालीमा ६ प्रतिशतको वृद्धि देखिएको बुद्ध एयरले जनाएको छ ।











