दीपकराज गिरीले भने : सरकारलाई धन्यवाद! कुलमानजीलाई बधाई!’

काठमाडौं, साउन २७ : कलाकार दीपकराज गिरीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएको भन्दै सरकारलाई धन्यवाद दिएका छन्। उनले कुलमानलाई पनि बधाई दिएका छन्।
बुधबार कुलमानले प्राधिकरणको कार्यकारी निर्देशकमा पदबहाली गरेलगत्तै सामाजिक सञ्जालमार्फत कलाकार गिरीले भनेका छन्, ‘स्वतन्त्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छभने राम्रो कामको तारिफ गरिन्छ। यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय हो।’
उनले फेसबुकमा लेखेका छन्, ‘सरकारलाई धेरैधेरै धन्यवाद! कुलमानजी लाइ बधाई!’
कुलमान न काका बाबुका छोरा न आमा पट्टिका न मामापट्टिका भनेजस्ता भए पनि किनकिन आफ्नैजस्ता लाग्ने भनेर उनले प्राधिकरणमा कुलमानको उपस्थितिप्रति खुसी व्यक्त गरेका छन्।
‘उनको कार्यकाल थपियोस् भनेर एकताका खुबै कराइयो । उफ्रिइयो। यसको मतलब कुलमानबाहेक अरू कसैले प्राधिकरण हाँक्न सक्दैन भनेर पनि होइन,’ उनले लेखेका छन्, ‘आज पनि म कहिलेकाहीँ त्यो कालो अँध्यारो र चिसा रातहरू सम्झन्छु, त्यतिबेला सँझ नै नपरोस् जस्तो लाग्थ्यो। करिब एक दशक त्यस्तो निरस र कष्टकर जीवन बिताउन बाध्य भइयो।’
कुलमान को आगमन पछि आज त्यस्ता दिनहरू इतिहास भएको उनले बताएका छन्। ‘हामी भावनात्मक छौं, दिमागले मात्रै होइन, कहिलेकाहीँ मनले पनि सोच्ने गर्छौं, त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस् भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भब भएन तर आज ढिलै भएपनि उनको पुनः आगमनले मजस्ता धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ।’
राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने सन्देश पनि गएको उनको भनाइ छ।
<>












