छुट्टाछुट्टै सवारी दुर्घटना चारजनाको मृत्यु
काठमाडौं, साउन २७ : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका-२९ सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा निर्माणका सामाग्री बोकेर रोकी राखेको...
काठमाडौं, साउन २७ : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-२९ सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा निर्माणका सामाग्री बोकेर रोकी राखेको प्रदेश नं. ३-०१-००६ ख ०७९७ नम्बरको टिपरमा बा२ब ७५८९ नम्बरको स्कुटर ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं सामाखुसी बस्ने सुर्खेत घर भएका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सल्यानको कालिमाटी गाउँपालिका-४ जम्बुतारास्थित सडकमा रा१त ४०४२ नम्बरको मिक्चर जडान ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा दुुईजनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका-३ बस्ने १९ वर्षीय खुम बहादुर वली र सोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसी रहेका छन्। दुर्घटनामा घाइते भएका अन्य तीनजनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।
त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका-१२ पाँडुलेस्थित सडकमा भे१ख २५२६ नम्बरको गाडी अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार हाल नाम, थर, वतन, नखुलेका एजनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य ११ जनाको नेपालगन्ज नर्सिङहोममा र गाडीका सहचालकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











