Kathmandu Press

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

कर्णाली, साउन २७ : मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन्। विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन्।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताए। उनका अनुसार मुसोममा अन्तरक्रिया भइरहेका बेलामा ढुङ्गामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो प्रहार गरिएको हो। तोडफोडबाट गाडीको सिसा फुटेको बताइएको छ। उपकुलपति सिंह मुसोममा ‘उच्च शिक्षाका चुनौती र वर्तमान अवस्थामा विश्वविद्यालयमा देखिएका समस्याहरुको समाधानका उपाय’ विषयक अन्तर क्रियाबाट फर्कने क्रममा प्रहरीसँगको झडपमा परी केही विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा मध्यपश्चिम विश्वविद्यालय अखिल (क्रान्तिकारी) का संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत छन्।

विश्वविद्यालयमा चार विद्यार्थी सङ्गठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन् । केही दिनयता विद्यार्थी रिले अनशनमा छन्।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने अराजक समूहलाई कारबाही गर्न माग गरेको छ । त्यस्तै विद्यार्थी सङ्गठनले आन्दोलनमा दमन गर्ने विश्वविद्यालय पदाधिकारीलाई कारबाहीको माग गरेका छन्। उनीहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न अराजक समूह परिचालन गरेको आरोप लगाएका छन्। रासस
 

प्रकाशित मिति: १०:२९ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्