Kathmandu Press

कर्मचारीमा कोरोना देखिएपछि प्रशासन कार्यालयको सेवा बन्द

सोलुखुम्बु, साउन २७ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको सेवा बन्द गरिएको छ।कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि...
कर्मचारीमा कोरोना देखिएपछि प्रशासन कार्यालयको सेवा बन्द

सोलुखुम्बु, साउन २७ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको सेवा बन्द गरिएको छ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको हो।

कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको उनले बताइन्। अन्य केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणको तयारी भइरहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्रहीको भीड बढ्दा जोखिम पनि बढेको कार्यालयले जनाएको छ। दैनिक १५ देखि २० वटासम्म नागरिकता लिने र सोही सङ्ख्यामा राहदानी लिन कार्यालयमा सेवाग्राही आउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खतिवडाले बताइन्।

यस्तै जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको पनि सेवा बन्द गरिएको छ। दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ। साउन ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए।

जिल्ला अस्पताल फाप्लुमा अहिले बिरामीको चाप बढेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले दिएको पछिल्लो जानकारीअनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये एक हजार ४६३ निको भएका छन् भने १३ जानाको मृत्यु भएको छ।

प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्