Kathmandu Press

बागलुङका १३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा

गलकोट, साउन २६ : बागलुङको तमानखोला गाउँपालिका–६ को नर्जाखानीस्थित दुर्गम गाउँको विष्णु आधारभूत विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन। एक सय ७० भन्दा बढी विद्यार्थी...
बागलुङका १३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा

गलकोट, साउन २६ : बागलुङको तमानखोला गाउँपालिका–६ को नर्जाखानीस्थित दुर्गम गाउँको विष्णु आधारभूत विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन। एक सय ७० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थी शुद्ध खानेपानीका लागि कष्ट झेल्दै आएका थिए।

विद्यालय नजिकैको सामुदायिक धारामा निर्भर हुनुपर्ने उनीहरुको बाध्यता थियो । तर अहिले विद्यालय परिसरभित्रै खानेपानी धारा बनेको छ । २०४६ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १ देखि ८ सम्म पढाइ हुन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले आठ लाख रुपैयाँ खर्च गरेर विद्यालयमा शुद्ध खानेपानीको पहँच पुर्‍याएको हो । विद्यालयभन्दा एक हजार ८०० मिटरमाथिको खेतापानी मुहानबाट विद्यालयमा छुट्टै पाइपलाइन विस्तार गरी खानेपानी ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण छन्त्यालले बताए ।

‘विद्यालय परिसरमा खानेपानीको पहुँच थिएन, विद्यालय नजिकैको सामुदायिक धारामा खानेपानीको भर पर्नुपर्ने हुन्थ्यो,’ छन्त्यालले भने, ‘पुनःनिर्माण प्राधिकरणले विद्यालयमै खानेपानी ल्याउने, ट्यांकी निर्माण गर्ने र शुद्धीकरणका लागि यूरोगार्डसमेत जडान गरेको छ, यसले विद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्थापन भएको छ ।’ उक्त विद्यालयमा चार कोठे भवनसमेत पुनःनिर्माण भइसकेको छ ।

विद्यालय भवन र विद्यालयमा शौचालय निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा०ले आर्थिक वर्ष २०७६÷७७ सालदेखि खानेपानीको अभाव झेलिरहेका विद्यालयमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन थालेको हो । कार्यालयले हालसम्म नर्जाखानीको विष्णु आधारभूत विद्यालय जस्तै जिल्लाका ३१ विद्यालयका झण्डै १३ हजार विद्यार्थीका लागि शुद्ध खानेपानीको व्यवस्थापन गरिसकेको जनाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा शुरु भएका ३१ विद्यालयमा सञ्चालित खानेपानी आयोजनामा ३० विद्यालयमा सम्पन्न भइसकेको र नेपाल माध्यमिक विद्यालय ताराखोलामा सम्पन्न हुन बाँकी रहेको राष्ट्रिय एकाइ प्रमुख मोतीलाल चपाईंले जानकारी दिए ।

‘जिल्लाका ३१ विद्यालयमा सञ्चालित खानेपानी योजनाको काम सकिएको छ, झण्डै १३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा पुगेका छन्,’ चपाईंले भने, ‘कतिपय विद्यालयमा खानेपानी मर्मत, ट्यांकी र युरोगार्ड राखिएको छ भने कतिपय विद्यालयमा नयाँ खानेपानी योजनाबाट पानीको व्यवस्था गरिएको छ ।’ ३१ विद्यालयमा शुद्धीकरणका लागि यूरोगार्ड जडान गरिएकाले सबै विद्यार्थीलाई शुद्ध खानेपानी उपलब्ध हुनेछ ।

कुनै विद्यालयमा पहिले नै खानेपानीको व्यवस्था भए पनि शुद्धीकरण र खानेपानी संकलन ट्यांकीको भने पर्याप्त व्यवस्थापन थिएन । प्रत्येक विद्यालयमा १२ हजार लिटरको भुइँ ट्यांकी, आवश्यकताअनुसार माथि तान्न्ने पम्पको व्यवस्था, शुद्धीकरण औजार र धारो निर्माण गरिएको छ । विद्यालयमा विद्यार्थीको चाप संख्याको आधारमा यूरोगार्ड जडान गरिएको छ ।

एक लाखदेखि चार लाखसम्मको यूरोगार्ड मात्रै जडान गरिएको छ । विद्यार्थी संख्याको आधारमा ३१ विद्यालयमा चार लाखदेखि आठ लाख ५० हजार रुपैयाँसम्मको बजेट विनियोजन गरेर शुद्ध खानेपानीको पहुँच पुर्‍याइएको हो । भइरहेको खानेपानी मर्मत, नयाँ खानेपानी आयोजना लगायतका काम सोही बजेटभित्रै समावेश गरिएको छ ।  समथर भागमा रहेका स्कुलमा पानी तान्ने पम्पसमेत जडान गरिएको शिक्षा एकाइका प्रमुख चपाईंले बताए।

विद्यार्थीका लागि शुद्ध खानेपानी उपलबध गराउन उच्चस्तरीय इलेक्ट्रिक मेसिन यूरोगार्डद्वारा फिल्टर गरिएको खानेपानी विद्यालयमा वितरण गरिएको छ। रासस

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्