आधा घटे शुक्लाफाँटा घुम्ने पर्यटक
महेन्द्रनगर, साउन २६ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन्। कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य...
महेन्द्रनगर, साउन २६ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन्। कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको संख्या घट्दै गएको हो।
आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन्। निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन्।
थोरै मात्रै विदेशी पर्यटक निकुञ्ज घुम्नका लागि पुगेका छन्। संक्रमणको डरले थोरै पर्यटक मात्रै निकुञ्ज घुम्नका लागि पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी रवीन चौधरीले बताए।
आव २०७६/७७ मा एक हजार ७७५ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए। आव २०७५/७६ मा निकुञ्जमा छ हजार ६९ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए। आव २०७४/७५ मा चार हजार ७४०, आव २०७३र७४ मा दुई हजार ६४० पर्यटकले निकुञ्ज घुमेका थिए। आव २०७७/७८ मा निकुञ्ज घुम्न आउने पर्यटकबाट आठ लाख ६२ हजार ९२४ रुपैयाँ संकलन भएको छ। पर्यापर्यटन, दण्ड जरिवानालगायत गरी सोही अवधिमा निकुञ्जले तीन करोड ९९ हजार २७२ रुपैयाँ राजस्व संकलन गरेको छ।
आव २०७६/७७ मा पर्यापर्यटनबाट आठ लाख दुई हजार ६८७ रुपैयाँ संकलन भएको थियो। निकुञ्ज कार्यालयले पर्यापर्यटनसहित अन्य गरी एक करोड ३४ हजार ७८५ रुपैयाँ राजस्व संकलन गरेको थियो। घुमफिरका लागि आउने पर्यटकलाई तोकिएको शुल्क लिई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाई निकुञ्जमा प्रवेश दिइने गरिएको छ।
निकुञ्ज घुमफिर गर्न आउने नेपाली नागरिकलाई ५६ रुपैयाँ ५० पैसा, सार्क मुलुकभित्रका नागरिकलाई ५६५ रुपैयाँ, विदेशी नागरिकलाई ११ सय ३० प्रवेश दस्तुर निर्धारण गरिएको छ। दश वर्षमुनिका बालबालिकालाई भने निकुञ्ज घुमफिर गर्दा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ ।
निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिंगे गैंडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चित्तल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्ने गरेका छन्। रासस











