Kathmandu Press

छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ : कांग्रेस नेता भण्डारी 

छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ : कांग्रेस नेता भण्डारी 

काठमाडौं, साउन २५ : प्रमुख सत्तारुढ दल कांग्रेसका नेता तथा पूर्वसभासद् डा. चन्द्र भण्डारीले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पारेका छन्।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन्। उनले अहिले मन्त्री बन्ने आकांक्षीहरु धेरै भएको सुनाउँदै उनले काम गर्न धेरै मन्त्री नभए पनि हुने तर्क गरे।

उनले जनताले दुई तिहाइ जनमत दिएर सरकारमा पठाउँदा पनि कम्युनिस्ट पार्टी सरकारबाट बाहिरिनुपरेको र कांग्रेस सरकारमा जानुपरेको सुनाए। उनले भने, ‘जनताले त कम्युनिष्ट पार्टीलाई चरेसको थालामा ८४ व्यञ्जन त्यो पनि मिथिला परिकार दिएर सरकारमा पठाएका थिए। तर, अहिले कांग्रेसले सरकार चलाउनुपर्ने आयो। विज्ञ, प्रोफेसर, पत्रकार, बुद्धिजिवी कसैले पनि यति छोटो समयमा केपी शर्मा ओलीको सरकार जाला भनेर सोचेका थिएनन्। तर, गयो।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि यति चाँडै प्रधानमन्त्री हुन्छु भनेर नलागेको पनि टिप्पणी गरे। उनले भने, ‘उहाँलाई पनि यति चाँडो प्रधानमन्त्री हुन्छु भन्ने थिएन, अहिले सानो थालोको भागमा सरकार परेको छ।’

उनले ओली सरकार हटाएर देउवाको नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको गठबन्धन बनेको पनि स्मरण गराए। उनले मन्त्री सानो संख्यामा बनाएर भए पनि देश चलाउन सकिने र जनताको पक्षमा काम गर्न सकिने विश्वास दिलाए।

उनले अहिले धेरै कुरा गर्नुभन्दापनि जनताको पक्षमा काम गर्नुपर्ने बेला भएको सुनाए। उनले भने, ‘देशमा व्याप्त भएको भ्रष्टाचारको कारण जिउँदै मान्छे मरेको छ। वास्तवमा यो सरकारले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई कारबाही गर्नुपर्छ। बरु, यसको लागि छुट्टै उच्चस्तरीय आयोग बनाउने हो कि, अथवा अख्तियारलाई पनि अझै प्रभावकारी बनाउने हो कि।’ पछिल्लो ३० वर्षमा अरु देश कहाँबाट कहाँ पुगेको भए पनि विकासको दृष्टिकोणले नेपाल धेरै पछि परेको उनको भनाई छ। 

उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना नरहेको टिप्पणी गरे। उनले भने,‘भदौमा महाधिवेशन होलाजस्तो मलाई लाग्दैन्। अहिले कोरोनाको महामारी छ। गाउँगाउँमा विरामी छन्। यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ। मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला। तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला।’

माओवादी केन्द्रका नेता तथा सांसद देवेन्द्र पौडेलले अबको दुई÷तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन्। उनले भने,‘सरकारले पूर्णता पाउँछ। आकांक्षी धेरै भएर सरकार विस्तारमा ढिलाइ भएको होइन। मलाई लाग्छ अबको दुई÷तीनभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ।’ सरकारको आयु डेढ वर्ष भएकाले यो अवधिमा जनताको मन जित्नेगरी राम्रो काम गरिने पनि उनले विश्वास दिलाए। उनले भने, ‘हामी जनपक्षीय काम गर्छौं।’ उनले समाजवादमा पुग्न धेरै मेहनत गरिने पनि बताए। 

नेता पौडेलले सत्तपक्षीय गठबन्धनको कार्यदलले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा धेरै राम्रो कुराहरु समेटिएको पनि जिकिर गरे। उनले भने,‘शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने कुरा गरिएको छ।’ त्यस्तै, आम जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने कुरा पनि साझा कार्यक्रममा समावेश गरिएको उनको भनाइ छ। 

नेता पौडेलले आवश्यक खोप आपूर्तिको लागि सम्बन्धित पक्षसँग सरकारले पहलकदमी गरिरहेको पनि विश्वास दिलाए। त्यस्तै, सीमा समस्या समाधानको लागि आवश्यक पहल गरिने कुरा पनि कार्यक्रममा उल्लेख गरिएको उनको भनाई छ।

यसअघिको सरकारले गरेका असंवैधानिक नियुक्तीहरु खारेजी गर्ने र नयाँ नियुक्तीहरु गरिनेपनि उनले जनाए। 

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा सांसद राजेन्द्र श्रेष्ठले अबको दुई÷चार दिनभित्रै सरकारले पूर्णता पाउने विश्वास दिलाए। यसका लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच कुराकानी पनि भैरहेको उनको भनाई छ। 

उनले भने,‘यो गठबन्धनको सरकार हो। त्यसो भएको हुनाले अहिले सरकारलाई पूर्णता दिनेबारे पनि कुराकानी भैरहेको छ। हामीले हिजो भर्खरै सरकारको लागि न्यूनतम साझा कार्यक्रम ल्याएका छौं। गठबन्धन भन्ने बित्तिकै सार्वभौम र समानताको आधारमा सरकार चल्ने कुरा हो। यसमा भावनात्मक एकताको कुरा पनि हुन्छ। मन्त्रालय बाँडफाँडको विषयमा छफल भैरहेको छ।’ 

उनले वर्तमान सरकारसँग आगामी निर्वाचन पनि सम्पन्न गराउने दायित्व भएकोले उपयुक्त समयमा उपयुक्त निर्णय लिईने पनि बताए। उनले मन्त्री बन्नको लागि आकांक्षी धेरै हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए। उनले केपी ओली नेतृत्वको सरकारको प्रतिगमनविरुद्ध आफूहरुको एलायन्स बनेको सुनाए। आफूहरु यो संसदलाई पूर्ण कार्यकाल चलाउनुपर्ने पक्षमा उभिएको सुनाउँदै सोहीअनुसार अघि बढेको श्रेष्ठको भनाई छ। 

त्यस्तै, स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार छानबिन गर्ने र दोषीमाथि कारबाही गरिने कुरापनि कार्यक्रममा समावेश गरिएको उनले सुनाए। आफुहरुले अल्पकालिन र दीर्घकालिन गरेर कार्यक्रम बनाएको उनको भनाई छ। त्यस्तै, उनले सुशासनमा पनि जोड दिने कुरा कार्यक्रममा समावेश गरिएको बताए। काठमाडौं बाहिर हाई–टेक शहर बनाउने कुरापनि साझा कार्यक्रममा राखिएको बताउँदै उनले भने,‘अब हामीले उत्पादनशील अर्थतन्त्र बनाउनतिर ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्