Kathmandu Press

ट्रेन्डिङको शीर्ष स्थानमा 'कुरा बुझ्न पर्च'

काठमाडौं, साउन २५ : गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक...
ट्रेन्डिङको शीर्ष स्थानमा 'कुरा बुझ्न पर्च'

काठमाडौं, साउन २५ : गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ।

गायकरसर्जक प्रकाश सपुतको रचना÷सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ। गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन्। भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ। अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रुपमा प्रस्तुत गरिएको छ।

गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएपछि गायक सपुत उत्साहित छन्। उनले गीतमा महिलाको आत्मसम्मान र स्वतन्त्रताको विषयलाई उठान गरेको बताए। समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त उनको गत वर्ष सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको थियो।

उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म युट्युबमा ८६ लाखभन्दा बढी पटक हेरिएको छ। बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ ‘दोहोरी ब्याटल’ लगायतका गीत चर्चित छन्।

गायक सुपत र गायिका शान्तीश्री परियारद्वारा स्वरबद्ध ‘गलबन्दी’ले त हालसम्म चार करोड ७१ लाखभन्दा बढी भ्यूज पाएको छ। तीज पर्व नजिकिएसँगै तीजका भाका युट्युबमा छाउन थालेका छन्। अडियो क्यासेट, सिडीको जमाना गएपछि सङ्गीतकर्मीलाई युट्युब माध्यम निर्विकल्प बनेको छ। म्युजिक भिडियोले पाउने चर्चा र भ्यूजका आधारमा कलाकारले युट्युबबाट पैसा आर्जन गर्छन्। 

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्