Kathmandu Press

तिंकरमा सशस्त्र प्रहरीको बिओपी भवन निर्माण 

तिंकरमा सशस्त्र प्रहरीको बिओपी भवन निर्माण 

दार्चुला, साउन २४ : व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माण भएको छ।  

चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो।

चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो। सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ।  त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ। 

तिब्बत भएर हुने चोरी, सिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बीओपी निर्माण गरिएको छ । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं. १ सम्म पुग्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ। 

यसअघि छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं. १ सम्म गस्ती गर्दै आइरहेको थियो । छालालेकमै बीओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ । छायालेकमा बीओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो। गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ।

गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो। ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि सामान ढुवानी गर्न समस्या भएपछि निर्माण कार्य केही ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर बमले बताए।

सडक मार्गसँग नजोडिएको तिङ्करमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न सम्भव थिएन भने भारतबाट सामान लिन पनि सकस भएको थियो । निर्माण व्यवसायले गत असारमा हेलिकप्टरमार्फत सामान ढुवानी गरेर निर्माण कार्य पूरा भएको स्थानीयवासी योगेश बोहराले बताए।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म छाङ्गरुको भवन निर्माण कार्य भने अलपत्र जस्तै भएको सुरक्षाकर्मी बताउँछन् । १५ महिनाभित्रै निर्माण सक्नुपर्ने भवन अझै भुइँतला मात्रै निर्माण गरिएको बताइएको छ। 

प्रकाशित मिति: १८:२९ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्