महिला भलिबलमा अमेरिकालाई स्वर्ण

काठमाडौं, साउन २४ : विश्व खेलकूदको कुम्भमेला ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ।
जापानको टोकियोस्थित एरिएक एरिनामा आइतबार भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो। महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो।
यसअघि अमेरिका तीनपटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो। अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो। फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो।
अमेरिकाले पहिलो सेटमा २५-२१ को सहज जित निकाल्यो। दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो। त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पार्यो।
सर्बियाले दक्षिण कोरियामाथि ३-० को सोझो सेटमा जित निकाल्दै कास्यपदक जितेको हो। सर्बियाले २५-१८, २५-१५ र २५-१५ को सोझो सेटमा जित निकालेको थियो।











