Kathmandu Press

उज्यालो पर्खदै मनाङवासी

मनाङ, साउन २४ : सबेरै उठेर भान्छाको काम गरेर बारीमा तरकारी गोडमेलसमेत गर्ने सदरमुकाम चामे गाउँपालिका–४ की समीरा गुरुङ अहिले अध्यारोमा गुज्रनुपर्दा अल्छाउन थालेकी...
उज्यालो पर्खदै मनाङवासी

मनाङ, साउन २४ : सबेरै उठेर भान्छाको काम गरेर बारीमा तरकारी गोडमेलसमेत गर्ने सदरमुकाम चामे गाउँपालिका–४ की समीरा गुरुङ अहिले अध्यारोमा गुज्रनुपर्दा अल्छाउन थालेकी छन् । विगतमा विद्युत् आपूर्ति सहज थियो र सबेरै उठेर भान्छाका साथै अन्य काम पनि सहजै गर्न भ्याइन्थ्यो । ‘बिहान सबेरै उठेर गर्न भ्याइने काम विद्युत् नहुँदा ढिलो गरी गर्न बाध्य भएका छौं, बिजुली हुँदा बेलैमा  काम गरी अर्को काम पनि गर्न भ्याउथ्यौँं तर अहिले दिनमा मात्रै काम गर्नुपर्ने बाध्यता भएको छ,’ उनले भनिन्। 

‘रात पर्नुभन्दा पहिले नै साँझको खाना तयार गरेर बस्नुपर्ने बाध्यता छ, उज्यालोमै खाना बनाउन भ्याइएन भने रातमा खान समस्या हुन्छ, अध्यारोमा बसेर खाँदा खानामा कीरो बसे पनि पत्तै पाइँदैन। सरकारले कहिले बिजुली उपलब्ध गराइदेला भन्दै पर्खेर बस्न बाध्य छौं,’ समीराको भनाइ छ। 

समीरा जस्तै मालती घले र सीता गुरुङजस्ता गृहिणीलाई हिजोआज भान्छाका साथै र अन्य काम दिउसो उज्यालोमै सकाउनुपर्ने बाध्यता छ । पर्यटन व्यवसायसँग समेत आबद्ध भएका हामीहरूलाई अहिले परिवारका लागि मात्रै खाना बनाउन पनि सकस भएको अर्की गृहिणी सीता गुरुङ बताउँछिन् । 

मस्र्याङ्दी नदीमा आएको बाढी र पहिराले त्यहाँको लघु जलविद्युत्मा क्षति पु¥याएकाले  विद्युत् आपूर्ति अवरुद्ध भएको हो। विद्युत् सञ्चालनका लागि अहिले मर्मत गर्नसक्ने अवस्था पनि छैन।

पहिरो गएपछि सडक सञ्जालबाट मनाङ पूर्णरुपमा विच्छेद हुँदा मर्मतका सामग्री ल्याउन पनि सकिएको छैन। विद्युत् आपूर्ति नहुँदा राति हिँड्न र खाना खानसमेत मोबाइलको बत्ती प्रयोग गर्नुपर्ने बाध्यता भएको अर्का स्थानीयवासी दावा छिरिङ गुरुङको गुनासो छ। 

‘सडक सञ्जाल सहज नहुँदा  खोला र नदीले क्षति पु¥याएको पुलमा काठ राखेर हिँड्ने बाटो बनाएका छौँं, अध्यारोमा मोबाइलको बत्ती बालेर हिँडेका छौं,’ उनले भने, ‘बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि मुस्किल पर्छ, चार्ज गर्न नपाए अझ अन्धकारमा पुग्छौं, सरकारले मनाङलाई छिटो उज्यालो बनाउने प्रयास गरे हुने थियो, सुनुवाइ कहिले होला खै ?’  

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले विद्युत् आपूर्तिका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउँछन्। प्रदेश सरकारले सरकारी कामकाजमा सहज बनाउने उद्देश्यले सौर्य उर्जा उपलब्ध गराए पनि स्थानीयवासीलाई  भने उज्यालो दिन नसकिएको उनको भनाइ छ। सडक सञ्जाल विच्छेद हुँदा अहिले आवतजावतका लागि हेलिकप्टर बाहेक अन्य विकल्प छैन। खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत वस्तु ढुवानीका लागि पनि हेलिकप्टर मात्रै प्रयोग भइरहेको छ। 
 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्