अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं, साउन २४ : अवैध लागूऔषधसहित काठमाडौंबाट दुई र झापाबाट चार गरी ६ जना पक्राउ परेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्मुडाँडाबाट ३ केजी अवैध...
काठमाडौं, साउन २४ : अवैध लागूऔषधसहित काठमाडौंबाट दुई र झापाबाट चार गरी ६ जना पक्राउ परेका छन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्मुडाँडाबाट ३ केजी अवैध लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध १ सय २० चक्की नाईट्रोभेट तथा १ सय ९० चक्की ट्रामा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ महांकाल घर भएका २७ वर्षीय मोहन तामाङ र काठमाडौं जयबागेश्वरी बस्ने काभ्रे भुम्लुसल्ले-५ घर भएका २३ वर्षीय रन्जिता बानियाँ रहेका छन्।
महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
त्यस्तै झापाको भद्रपुर नगरपालिका-३ किचकबधबाट २१ ग्राम २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ३ बोतल इस्कफ तथा १० पिस नाइट्रोसन ट्याब्लेटसहित दुईजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बंगाल तोतापाडा घर भएका २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका–३ हातिमारा बस्ने २४ वर्षीय खेमराज कुँवर छन्।
भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेका रायको साथबाट उक्त पदार्थ तथा भद्रपुर नगरपालिका(३ हातिमाराबाट कुँबरको साथबाट ईस्कफ र नाइट्रोसन सहित फेला पारी जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
यसैगरी झापाकै गौरिगंज गाउँपालिका-४ कदमगाछीबाट ४४ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका(१ बस्ने ३४ वर्षीया मञ्जु धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया बिमला धिमाल रहेका छन्।
सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको प्रहरी टोलीले जाँच गर्ने क्रममा संबेदनशिल अंगमा लुकाई राखेको आशंकामा खजुरगाछी स्वास्थ्य चौकीमा जाँच गराउँदा उक्त पदार्थ फेला परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।











