Kathmandu Press

प्रधानमन्त्रीको सन्देश : महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप

सरकार र सबै जनताको सामूहिक प्रयासले मात्र कोरोना महामारीलाई पार लगाउन सकिने उनकाे भनाइ छ।
प्रधानमन्त्रीको सन्देश : महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप

काठमाडौं, साउन २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी अस्त्र भनेकै खोप भएको बताएका छन्। 

शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले कोरोना महामारीबाट बच्न सबै देशवासीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर कारोनाविरुद्धको खोप अभियान सफल पार्न अनुरोध गरे। 

‘अहिले विभिन्न उमेर समूूहलाई खोप लगाउने कार्यक्रम जारी रहेको उल्लेख गर्दै उनले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्नुहुन पनि म सबैलाई अनुरोध गर्दछु,’ उनले भने।

सरकार र सबै जनताको सामूहिक प्रयासले मात्र कोरोना महामारीलाई पार लगाउन सकिने उनकाे भनाइ छ।

‘सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन,’ उनले भने, ‘हामी सबै मिले मात्रै यो महामारीलाई पार लगाउन सकिन्छ।’ 

उनले अहिले सबै नेपाली कोरोना महामारीको सामना गरिरहेको उल्लेख गर्दै कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरु हुने लक्षणहरू देखिन थालेको बताए। 

उनले अत्यन्त आवश्यक परेका बेला मात्रै घरबाहिर निस्कन, बाहिर निस्कनुअघि नाकमुख राम्ररी छोपिने गरी मास्क लगाउन, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरे।

उनले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र र गैरसरकारी संस्थाहरूलाई पनि भिडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर मात्र आफ्नो पेसा, व्यवसाय तथा अन्य गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेका छन्। 

सबैको साझा प्रयासले कोरोना महामारी नियन्त्रण गर्न सफल हुने विश्वास उनले व्यक्त गरे।

प्रकाशित मिति: १६:५३ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्