Kathmandu Press

स्वास्थ्य मन्त्रालयको अपिल : भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाई खोप अभियान सफल पारौं

काठमाडौं, साउन २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भइरहेको भिडभाडप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।त्यसकारण जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालन गरेर...
स्वास्थ्य मन्त्रालयको अपिल : भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाई खोप अभियान सफल पारौं
फाइल तस्बिर ।

काठमाडौं, साउन २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भइरहेको भिडभाडप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यसकारण जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालन गरेर खोप अभियानलाई सफल पार्न मन्त्रालयले अपिल गरेको छ।

मन्त्रालयले आज (शनिबार) एक विज्ञप्ति जारी गरेर कोभिड–१९ संक्रमणको उच्च जोखिमबाट सबैलाई बचाउन कोरोनाविरुद्धको खोप अभियानलाई सफल पार्न अपिल गरेको हो।

जनस्वास्थ्यका मापदण्डहरुको पालनाको विषयलाई बृहत्तर बनाउन सरकारले साउन २३ गतेदेखि २९ गतेसम्म राष्ट्रिय रुपमा नेपाल मास्क अभियान सञ्चालन गरिरहेको छ,’ अपिलमा भनिएको छ, ‘खोप अभियानलाई द्रुत गतिमा लेजाने गरी खोप आपूर्ति बढाउँदै, केन्द्रहरु विस्तार गर्दै, अनलाइन प्रविधिको समेत प्रयोग गरी व्यवस्थित गर्दै लगिएको छ।’

मन्त्रालयले थप भनेको छ, ‘तर पनि खोप केन्द्रहरुमा भइरहेको भिडभाडप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकताअनुसार स्थानीय रुपमा थप स्वयंसेवक परिचालन गरेर भए पनि खोपको प्रथमिकता र पालोमा परेका सर्वसाधारणलाई सहज हुने व्यवस्था गर्न मन्त्रालयले अनुरोध गरेको छ। 

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी अपिलमा हाल चलिरहेका र सुरु हुने अभियानहरुमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई सहज हुने गरी व्यवस्थापन गर्न जिल्ला खोप समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय निकायलगायत सरोकारवालालाई अनुरोध गरिएको छ।


    

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्