भौतिक उपस्थितिमै होला त कक्षा–१२ को परीक्षा ?
आज एसईई नतिजा प्रकाशन गर्ने प्रयोजनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी छ। सोही बैठकमा कक्षा–१२ को परीक्षाका सन्दर्भमा पनि छलफल हुने बताइएको छ। कक्षा–१२ को परीक्षा स्थगन गर्ने कि नगर्ने, स्थगन गरेको अवस्थामा कस्तो विकल्प अपनाउने भनी छलफल भइरहेको स्रोतको भनाइ छ।
काठमाडौं, साउन २३ : यतिखेर राष्ट्रिय परीक्षा बोर्डले ३१ साउनदेखि लिने भनेको वार्षिक परीक्षाहरू हुने कि नहुने भन्ने अन्योलमा छन्।
कोभिड–१९ को जोखिम बढ्दै गएको भन्दै ३१ साउनदेखि भौतिक उपस्थितिमा हुने भनिएको कक्षा–१२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा कार्यक्रम स्थगन हुन सक्ने हल्ला चलेपछि विद्यार्थी अन्योलमा परेका हुन्।
परीक्षा स्थगन हुन सक्ने समाचार आएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरूले निर्धारित समयमै परीक्षा हुने भनी विद्यार्थीलाई अन्योलमा नपर्न सुझाएका थिए। विश्वविद्यालयका कतिपय परीक्षा भइरहेका छन् भने अब एक सातापछि हुने भनिएको कक्षा–१२ परीक्षाको तयारीमा विद्यार्थीहरू जुटेका छन्।
गत सोमबार ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव गरेका थिए।
स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिइने पनि राज्यमन्त्री श्रेष्ठले बताएका थिए।
सोहीबमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई परीक्षा स्थगनका लागि सिफारिस गरेको शुक्रबार पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका थिए।
आज एसईई नतिजा प्रकाशन गर्ने प्रयोजनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी छ। सोही बैठकमा कक्षा–१२ को परीक्षाका सन्दर्भमा पनि छलफल हुने बताइएको छ। कक्षा–१२ को परीक्षा स्थगन गर्ने कि नगर्ने, स्थगन गरेको अवस्थामा कस्तो विकल्प अपनाउने भनी छलफल भइरहेको स्रोतको भनाइ छ।
बोर्डले कक्षा–१२ को परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने तालिका सार्वजनिक गरी तयारी अघि बढाइसकेको थियो।
विद्यार्थीले होम सेन्टरबाटै एक विषयको १०० पूर्णांकको परीक्षा लिने निर्णय बोर्डले गरेको छ। गत वर्ष पनि कोरोना महामारीकै कारण निर्धारित समयमा परीक्षा हुन सकेको थिएन। पछि बोर्डले भौतिक उपस्थितिमा ५० पूर्णांकको पूरक परीक्षा लिएर कक्षा–१२ को नतिजा प्रकाशन गरेको थियो।
जेठ २६ का लागि तय भएको कक्षा–१२ परीक्षा पनि दोस्रो लहरको कोरोना संक्रमणका कारण स्थगित भएको थियो।
विभिन्न सरोकारवाला व्यक्ति तथा सरुवा रोग विशेषज्ञहरूले कोरोना महामारीको जोखिम उच्च बन्दै गएकाले अन्य विकल्प अपनाएर भौतिक उपस्थितिमा परीक्षा गर्न नहुने सुझाव दिँदै आएका छन्।
सत्तारुढ कांग्रेसकै नेताहरूले पनि सामाजिक सञ्जालमार्फत परीक्षाभन्दा महत्त्वपूर्ण विद्यार्थीको जीवनरक्षा भएको उल्लेख गर्दै भौतिक उपस्थितिमा हुने परीक्षा रोकिनुपर्ने संकेत गरेका छन्।
कांग्रेसका युवा नेताहरूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर कक्षा–१२ को परीक्षामा वैकल्पिक विधि अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पनि विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपार्ने गरी निर्णय लिने विश्वास दिलाएको कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
-1789476019.jpg)




-1789476019.jpg)





