Kathmandu Press

आज जापानबाट आइपुग्दै एस्ट्राजेनेका खोप

आज जापानबाट आइपुग्दै एस्ट्राजेनेका खोप

काठमाडौं, साउन २३ : कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका आज जापानबाट आइपुग्न लागेको छ।

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिएको छ। त्यसमध्ये पहिलो डोज आज आइपुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, भोलि पनि खोप ल्याउने कार्यतालिका रहेको छ। आज र भोलि गरेर आठ लाख डोज खोप आउनेछ। त्यसपछि बाँकी थप खोप अर्को चरणमा ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि कोभिशिल्ड लगाएका बृद्धबृद्धालाई यो खोप लगाइनेछ। गत फागुन र चैतमा बृद्धबृद्धालाई कोभिशिल्ड खोप लगाइएको थियो।

तर, भारतले थप खोप नदिएपछि उनीहरुलाई दोस्रो डोज लगाउन सकिएको थिएन। अब उनीहरुलाई यो खोप लगाइने भएको छ।

एस्ट्राजेनेका र कोभिशिल्ड एउटै खोप हो। बेलायतको एस्ट्राजेनेका कम्पनीले कोरोनाविरुद्धको खोप बनाएको थियो।

त्यसलाई बेलायतमा एस्टाजेनेका नाम दिइएको छ भने भारतमा कोभिशिल्ड नाम दिइएको हो। त्यसैले, यसअघि कोभिशिल्ड खोपको पहिलो डोज लगाएका बृद्धबृद्धालाई अब दोस्रो डोजका रुपमा एस्ट्राजेनेका दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०७:३५ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्