Kathmandu Press

जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप लगाउन सांसदको माग

काठमाडौं, साउन २२ : राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेका छन्।जोखिम फेरि बढेर जान...
जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप लगाउन सांसदको माग

काठमाडौं, साउन २२ : राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेका छन्।

जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न, तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य संस्थामा तयारी गर्ने व्यवस्था मिलाइहाल्न पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै दुर्गम क्षेत्रमा लैजान पनि सांसदको माग छ। 

राष्ट्रियसभाको आजको बैठकमा सांसद तारादेवी भट्टले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था गर्न माग गरे। कुल बजेटको सात प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा छुट्याइएको उल्लेख गर्दै उनले कार्यान्वयन हुने वातावरण बनाउन माग गरे।

दार्चुला घटनाका दोषीलाई कारबाहीको माग गर्दै सांसद भट्टले पब्जी, प्रmी फायर, एग्रोगेसनजस्ता इन्टरनेटमा आधारित खेल बन्द गराएर बच्चाको स्वास्थ्य जोगाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। सांसद पर्शुराम मेघी गुरुङले कार्यसम्पादन मूल्याङ्कनमा कुनै कर्मचारी फेल नभएको उल्लेख गर्नुहुँदै सेवा प्रवाह चुस्त हुन नसकेको बताए। 

सांसद गङ्गाकुमारी बेल्वासेले रोजगारी नपाउँदा थुप्रै युवा विदेशमा जान बाध्य हुनुपरेको उल्लेख गर्दै सम्झौतानुसारका काम नपाउँदा समस्यामा पर्ने गरेको बताइन्। वैदेशिक रोजगारीमा गई अंगभंग भएकाले उचित क्षतिपूर्ति नपाउने अवस्था रहेकाले कानुनी कारबाहीको उनले माग गरिन्।

सांसद रामनारायण विडारीले संसद् विघटन गरेर अध्यादेशमार्फत संसदीय सुनुवाइ नगरी संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिएको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको, सभामुखलाई सूचना नदिएकाले प्रधानन्यायाधीशबाट सुनुवाइ हुन्छ कि हुँदैन भनी प्रश्न गरे । 

सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभा सदस्यलाई बन्धक बनाएकाले छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो। 

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्