नयाँ पार्टी गठनअघि जिल्ला दौडाहामा ठाकुर-महतो
तत्काल नयाँ पार्टी गठन गर्दा संघीय र प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको पनि पद गुम्ने भएकाले जसपाकै नाममा गतिविधि गर्दै नयाँ पार्टीको अभ्यास अगाडि बढाउने रणनीतिमा महन्थ-राजेन्द्र समूह देखिन्छ।
काठमाडौं, साउन २२ : संघीय संसदमा चौथो ठूलो दल जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले प्राप्त गरेपछि पार्टीविहीन बनेको महन्थ ठाकुर-राजेन्द्र महतो समूह जिल्ला दौडाहामा निस्केको छ।
२० साउनमा ठाकुरले आफू समर्थक नेता-कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्दै अपिल जारी गरेका थिए। त्यसलगत्तै उक्त समूहले जिल्ला आफू समर्थक नेता-कार्यकर्तासँग जिल्ला-जिल्ला पुगेर अन्तरसंवाद थालेको हो।
महन्थ समूहका नेता केशव झाका अनुसार शुक्रबार सप्तरी, सिरहा, बारा र महोत्तरीमा विस्तारित बैठक भइरहेको छ। सप्तरीको कार्यक्रममा राजेन्द्र महतो, केशव झा, वृषेशचन्द्र लाल, राजीव झाले सम्बोधन गर्ने तालिका छ।
यस्तै, सिरहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइनले विस्तारित बैठकलाई सम्बोधन गर्दैछन्। महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउत तथा बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम छ।
ठाकुर-महतो पक्षको यो जिल्ला दौडाहालाई नयाँ पार्टी स्थापना गर्ने प्रयासको प्रस्थानविन्दु मानिएको छ। जिल्लाको दौडाहाको शृंखला यतिमै रोकिने छैन। ९ भदौसम्म यो शृंखला चल्ने तालिका छ।
जसअन्तर्गत शनिबार झापा, मोरङ, धनुषा र पर्सा तथा आइतबार सुनसरी, सर्लाही, रौतहट, रूपन्देही, कपिलवस्तु र कञ्चनपुरमा जिल्लास्तरका नेता-कार्यकर्ताको विस्तारित बैठक तय भएको छ। जनकपुरको कार्यक्रममा ठाकुर र महतो दुवै नेताले सम्बोधन गर्ने तय भएको छ।
यस्तै, २५ साउनमा नवलपरासी र बर्दिया तथा २६ साउनमा बाँकेमा जिल्लास्तरीय विस्तारित बैठक तय भएको छ। त्यसपछि प्रदेशस्तरीय विस्तारित बैठक हुनेछन्। जसअनुसार, २७ साउनमा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ३० साउनमा वागमती प्रदेशको काठमाडौं, ३ भदौमा प्रदेश-१ को इटहरी, ५ भदौमा गण्डकी प्रदेशको पोखरा, ७ भदौमा लुम्बिनी प्रदेशको बुटवल र ९ भदौमा कर्णाली प्रदेशको सुर्खेतमा विस्तारित बैठक राखिएको छ।

उक्त समूहका नेता केशव झाका अनुसार निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको र त्यसपछि आउने निर्णय हेरेर उक्त समूहले आगामी रणनीति तय गर्ने भएको छ।
‘त्यसैले यसबीचमा हामीसँग जोडिएका नेता-कार्यकर्ताहरूको राय सल्लाह लिने, आफ्नो कुरा पनि राख्ने कार्यक्रम तय गरेका हौँ,’ झाले काठमाडौं प्रेससँग भने, ‘त्यसपछि हामी थप छलफल गर्छौँ। नेता-कार्यकर्ताकै बलमा पार्टीको अस्तित्व हुने हो। सबैको साझा एजेन्डा के आउँछ, सोहीअनुसार अगाडि बढ्ने रणनीतिमा छौँ।’
निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्न उक्त समूहलाई अवसर दिएको छ। तर, नयाँ पार्टीका बारेमा अहिले कुनै छलफल सुरु नभएको झाको भनाइ छ। ‘त्यो विषयमा अहिले केही छलफल भएको छैन,’ उनले भने।
१० वैशाख ०७७ मा तत्कालीन संघीय समाजवादी पार्टी र राजपा नेपालको एकीकरणबाट जसपा गठन भएको थियो। ११ साउनमा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको सनाखत गराउँदै निर्वाचन आयोगले अध्यक्ष यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो।
राजपाको नाममा अर्कै समूहले निर्वाचन आयोगमा पार्टी दर्ता गरिसकेको र चुनाव चिह्न पनि जसपाको हातमा पुगिसकेकाले महन्थ-राजेन्द्र समूह सर्वाधिक अप्ठ्यारोमा छ। यसअघि राजपाको नाममा ठाकुर-महतो समूहले नै पार्टी दर्ता गराएको दाबी गरिए पनि पार्टी दर्ता गर्ने समूह उपेन्द्र यादव निकटस्थ रहेको खुलासा भएको छ। त्यसैले पुनः राजपा नेपालका नाममा राजनीति अगाडि बढाउन महन्थ-राजेन्द्र समूहलाई असम्भव देखिएको छ।
पछिल्लो जिल्ला दौडाहालाई अर्कै नामबाट पार्टी दर्ता गरेर अगाडि बढ्ने रणनीतिका रूपमा अथ्र्याइएको छ। तत्काल नयाँ पार्टी गठन गर्दा संघीय र प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको पनि पद गुम्ने भएकाले जसपाकै नाममा गतिविधि गर्दै नयाँ पार्टीको अभ्यास अगाडि बढाउने रणनीतिमा महन्थ-राजेन्द्र समूह देखिन्छ।
-1789476019.jpg)




-1789476019.jpg)





