Kathmandu Press

सात दिने शिशु बोकेर परीक्षा दिदै ११ कक्षाकी विद्यार्थी

म्याग्दी, साउन २२ : म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन्।कक्षा ११ को परीक्षामा...
सात दिने शिशु बोकेर परीक्षा दिदै ११ कक्षाकी विद्यार्थी

म्याग्दी, साउन २२ : म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन्।

कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदीकी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन्। सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की विद्यार्थी घर्तीमगरले परीक्षा दिएको विद्यालयले जनाएको छ।

विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत उनले पाँच वटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए। “हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौँ”, प्रअ सुवेदीले भने।

उनका अनुसार सामान्य विद्यार्थी जस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी छिन्। विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले आमा र बच्चाको अवस्था भने सामान्य रहेको जानकारी दिइन्।

गत जेठमै सम्पन्न हुनुपर्ने कक्षा ११ र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्यका न्युनतम मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि प्रकाश माविले गत आइतबारदेखि परीक्षा सुरु गरेको हो।

परीक्षामा विद्यार्थीको उत्साहजनक उपस्थिति देखिएको छ। महामारीका कारण वैशाखदेखि अनलाइन कक्षाको भरमा पढेका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन्।

कक्षा ११ र १२ तर्फका संयोजक कविराम थापाले कक्षा ११ का कुल २४५ विद्यार्थीमध्ये २३७ जना परीक्षामा सहभागी भएको जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०८:१३ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्