नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा रावल र आले उपस्थित, सुरेन्द्र र योगेश अनुपस्थित
काठमाडौं, साउन २१ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको जारी केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित भएका छन्। तर नेपाल समूहनिकट मानिएका...
काठमाडौं, साउन २१ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको जारी केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित भएका छन्। तर नेपाल समूहनिकट मानिएका सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने बैठकमा अनुपस्थित भएका छन्।
पहिला केपी ओली समूहमा आबद्ध हुँदै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएलगत्तै नेपाल समूहमा रहँदै आएका प्रेम आलेले पनि बैठकमा सहभागिता जनाएका छन्।
नेपाल समूहमै आबद्ध रहँदै आएका पाण्डे र भट्टराई एमालेभित्रका दुई समूहबीचको द्वन्द्वमा के गर्ने भनी अन्योलमा परेपछि अलग रहँदै आएका छन्।
त्यही कारणले आजको बैठकमा उनीहरू अनुपस्थित भएको चर्चा चलिरहँदा कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण बैठकमा उनीहरुको सहभागिता हुन नसकेको दाबी गरिएको छ।
नेता नेपालको सचिवालयले पाण्डेका पीएसओ र योगेशका आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दाबी गरेको हो।
पाण्डे नेपाल समूहका भर पर्दा नेता मानिए पनि पछिल्लो समय पार्टी एकताको पक्षमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनअघि नै उनी सदनबाट बाहिरिएका थिए।
योगेशले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र र प्रतिनिधिसभाको दोस्रोपटक विघटनपछि त्यसको विरोध गर्दै सर्वोच्च अदालतमा सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेनन्।
एमाले उपाध्यक्ष वामदेव गौतमले जस्तै योगेशले पनि पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहेको बताउने गरेका छन्।
रावलले देउवालाई विश्वासको मत दिने दिन सांसद पदबाटै राजीनामा दिएका थिए। पछि उनले राजीनामा फिर्ता लिएका थिए। रावल पनि सकेसम्म दुई नेतालाई मनाएर पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने कसरतमा छन्।
पार्टीभित्र देखिएको अन्तरसंघर्षमा नेता नेपाललाई सबैभन्दा सुरुमा योगेशले साथ छाडेका थिए।
-1789476019.jpg)




-1789476019.jpg)





