सन् २०१७ मा विश्वभर साढे चार लाखभन्दा धेरैको हत्या : संयुक्त राष्ट्रसंघ
न्यूयोर्क, असार २६ : सन् २०१७ मा विश्वभर चार लाख ६४ हजार जनाको हत्या भएको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदन अनुसार यसरी ज्यान गुमाउनेह....
न्यूयोर्क, असार २६ : सन् २०१७ मा विश्वभर चार लाख ६४ हजार जनाको हत्या भएको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदन अनुसार यसरी ज्यान गुमाउनेहरू सशस्त्र द्वन्द्व र आतंककारी आक्रमणका पीडितभन्दा धेरै छन्।
लागुऔषध र अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालयको प्रतिवेदन अनुसार अमेरिकी महादेशमा सबैभन्दा धेरै हत्या भएको छ। सन् १९७२ मा प्रतिएक लाखमा ७.२ जनाको हत्या भएकोमा सन् २०१७ मा ६.१ को हत्या भएको छ। यसरी हेर्दा २५ वर्षमा हिंसात्मक घटनाका कारण ज्यान गुमाउनेको संख्या घटेको छ। विश्व जनसंख्या तीव्र बढेकाले हत्याको घटनामा ज्यान गुमाउने जोखिम पनि घटेको हो।
भियनास्थित कार्यालयका कार्यकारी निर्देशक युरी फेदोतोभले जनाए अनुसार प्रतिवेदनले ‘हत्या दर रोकथाम गर्नलाई लैङ्गिक हिंसा, गिरोहको घातक हिंसा र अन्य चुनौतिबारे पनि प्रकाश पार्ने’ प्रयास गरेको छ।
असमानता, बेरोजगारी, राजनीतिक अस्थिरता, लैङ्गिक रूढीवाद र संगठित अपराध हत्याका मुख्य कारण भएको अध्ययनमा उल्लेख छ। हिंसात्मक अपराध कम गर्न विधिको शासन, भ्रष्टाचार नियन्त्रण तथा आर्थिक विकास र शिक्षा प्रवद्र्धन महत्वपूर्ण भएको अध्ययनले औंल्याएको छ।
अध्ययन अनुसार सन् २०१७ मा सशस्त्र द्वन्द्वमा ८९ हजार र आतंककारी हिंसाले २६ हजारको ज्यान लिएको छ। सन् २०१५ र २०१७ बीच विश्वभर हत्याका घटनामा ४ प्रतिशत वृद्धि भयो। यो प्रवृत्ति नरोकिए सन् २०३० सम्म सबै प्रकारका हिंसा र मृत्यु दर रोक्ने संयुक्त राष्ट्रसंघको लक्ष्य पूरा नहुने कार्यालयले चेतावनी दिएको छ।
संगठित अपराधका कारण विश्वभर १९ प्रतिशत हत्या हुने गरेको अध्ययनले पत्ता लगाएको छ। सन् २००० देखि २०१७ को अवधिमा वर्षमा औसत ६५ हजारले संगठित अपराध र आपराधिक गिरोहका कारण ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ।
‘अमेरिकी महादेशमा नियतवश एक लाख ७३ हजारको हत्या भएको छ। यो सन् २०१७ मा विश्वभर भएका हत्याका घटनाको ३७ प्रतिशत हो। विश्वको १३ प्रतिशत जनसंख्या मात्रै अमेरिकी महादेशमा बस्दछ,’ प्रतिवेदनमा भनिएको छ।
सन् १९९० देखि विश्वसनीय अभिलेख सुरू भएपछि अमेरिकी महोदशमा भएको हत्याको यो नै सबैभन्दा उच्च दर हो।
विश्व औसतभन्दा बढी हत्या दर भएको एकमात्र अर्काे क्षेत्र अफ्रिका हो। यहाँ प्रति लाखमा १३ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ। तुलनात्मक रूपले युरोपमा प्रति लाख तीन जना अर्थात् २२ हजारको हत्या भएको छ। विश्वको ६० प्रतिशत जनसंख्या भएको एसियामा सबैभन्दा न्यून क्षेत्रीय दर अर्थात प्रति लाखमा २.३ वा एक लाखमा चार हजारको हत्या भएको छ।
अध्ययन अनुसार विश्वभर भर गोली प्रहार नै हत्याको सबैभन्दा ठूलो कारण हो। सन् २०१७ मा आधाभन्दा धेरैको ज्यान गोली प्रहारबाट गएको छ भने २० प्रतिशत घटनामा धारिलो हतियार प्रयोग गरिएको छ।
‘सन् २०१७ मा अमेरिकी महादेशमा भएका तीन चौथाइ हत्याका घटनामा बन्दुक प्रयोग गरिएका छन्। विश्वभर बन्दुकबाट भएका हत्याका घटनामा यसले एक चौथाइ भाग ओगटेको छ,’ प्रतिवेदनमा भनिएको छ।
सन् २०१७ मा विश्वभर भएका हत्याका घटनामा ज्याउन गुमाउने ८१ प्रतिशत पुरूष र बालक थिए। करिब ९० प्रतिशत संदिग्ध पनि पुरूष भएको अध्ययनमा उल्लेख गरिएको छ।
महिलाका लागि ‘घर नै सबैभन्दा खतरनाक स्थल’ भएको प्रतिवेदनमा उल्लेख छ। सन् २०१७ मा ८७ हजार महिला र बालिकाको हत्या भएको छ।
सन् २०१२ को तुलनामा यो थोरै भएपनि ‘इन्टिमेट पार्टनर’ वा परिवारका अन्य सदस्यले हत्या गरेका पीडित महिलाको संख्या सन् २०१२ मा ४७ प्रतिशत रहेकोमा सन् २०१७ मा बढेर ५८ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।