जयसिंहको खोजीमा नेपाली र भारतीय सुरक्षाकर्मी परिचालनः गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजीमा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मी परिचालन भएको जानकारी दिएका छन्।
काठमाडौं, साउन १९ : गृहमन्त्री बालकृष्ण खाँणले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजीमा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मी परिचालन भएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा समय लिएर बोल्दै मन्त्री खाँणले उक्त घटनामा सरकार गम्भीर रहेको र छानविन तीव्र बनाइएको बताए ।
सशस्त्र प्रहरीका डीएसपी, प्रहरीका निरीक्षकलगायत अधिकृतलाई स्थलगत छानविनका लागि घटनास्थल पठाइएको उनले बताए । यस्तै, दार्चुला जिल्ला प्रशासनले भारतीय समकक्षीलाई घटनाबारे आपत्ति जनाउँदै पत्राचार गरेको उनले जानकारी दिए ।
जयसिंहसहित तुइन तरिसकेका र तर्न बाँकी रहेका दार्चुलाका नागरिकसँग सोधपुछ भइरहेको उनले बताए ।
अहिले पनि नेपाली नागरिकले नदी तर्न तुइनको प्रयोग गरिरहेको दुःखद् अवस्था रहेको उनले संसदलाई जानकारी दिए । सुदूरपश्चिममा महाकाली नदी तर्न नागरिकले तुइन प्रयोग गरिरहेको र त्यसक्षेत्रमा चारवटा झोलुंगे निर्माणाधीन रहेको र छिट्टै पूरा गर्न प्रतिबद्धता मन्त्री खाँणले जनाए ।
दार्चुलाका नागरिकले अहिले पनि पैदल यात्रा गर्नु परिरहेको उल्लेख गर्दै उनले त्यस क्षेत्रमा सडक निर्माण छिटो सक्ने प्रतिबद्धता पनि जनाए ।
-1789476019.jpg)




-1789476019.jpg)





