Kathmandu Press

पीडितमैत्री सेवा थप प्रभावकारी बनाउनुपर्छ : प्रहरी महानिरीक्षक थापा क्षेत्री

पीडितमैत्री सेवा थप प्रभावकारी बनाउनुपर्छ : प्रहरी महानिरीक्षक थापा क्षेत्री

काठमाडौं, साउन १८ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवासँग सम्बन्धित प्रहरी कार्यालयहरूले पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाई त्यस्ता नागरिकलाई प्रदान गर्ने सेवामा विशेष संवेदनशीलता अपनाई सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फ्रेन्सद्वारा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रदेश प्रहरी कार्यालयहरु, ब्युुरोहरु, महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरु, महानगरीय प्रहरी वृत्तहरू, इलाका प्रहरी कार्यालय र बालबालिका खोजतलास केन्द्र गरी १ सय ३७ वटा कार्यालयमा कार्यरत ३ सय ६८ जना प्रहरी कर्मचारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लक्षित विषयमा निर्देशन दिएका हुन्। 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जोखिमको समय र अफ्ठ्यारो परिस्थितिमा सबैभन्दा नजिकको भरोसा गर्ने संयन्त्रका रुपमा रहेको प्रहरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित हिंसा र अपराधहरु हुन नदिन र भएगरेकालाई यथाशक्य छिटो न्याय दिलाउने र पीडितमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए।

हिंसा र अपराधपीडित महिला तथा बालबालिकालाई न्याय र सहयोग गर्ने सम्बन्धी कार्य कानुनी रुपमा मात्र नभई मानवीय हिसाबले पनि महत्वपूर्ण रहेकाले उनीहरुको हकहित संरक्षण तथा न्यायको निमित्त विशेष चासो राख्नुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जोखिम वर्गसँग सम्बन्धित मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखी सरकारी वकिल तथा जिल्लाका मुद्दा शाखाहरु, सेवा प्रदायक संघसंस्था तथा निकायहरु र प्रहरीभित्रैका संयन्त्रहरुसँग समन्वय गरी कारबाही अगाडि बढाउनुपर्ने चर्चा गरे।

यस्ता वर्गसँग सम्बन्धित सूचना प्रवाह गर्दा तोकिएको सूचना अधिकारीले पीडितको गोपनीयता एवं मानवअधिकारलाई मध्यनजर राखी उच्च पेसागत नैतिकता र व्यावसायिकतालाई कायम राख्दै प्रहरीको छविमा सकारात्मक सन्देश जाने गरी कार्य सम्पादन गर्नुपर्ने कुरामा ध्यान दिन उनले निर्देशन दिए।

प्रकाशित मिति: १७:५४ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्