Kathmandu Press

माधवकुमार नेपाल गिरिजाबाबुजस्तै भरोसा गर्न योग्य नेता : महेन्द्र यादव

काठमाडौं,साउन १८ : कांग्रेस नेता महेन्द्र यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जननेताको संज्ञा दिएका छन्।पूर्वमन्त्रीसमेत रहेका यादवले सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना...
माधवकुमार नेपाल गिरिजाबाबुजस्तै भरोसा गर्न योग्य नेता : महेन्द्र यादव

काठमाडौं,साउन १८ : कांग्रेस नेता महेन्द्र यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जननेताको संज्ञा दिएका छन्।

पूर्वमन्त्रीसमेत रहेका यादवले सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको बताए। 

‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो। संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो। अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाइट घट्दैन, बरु बढ्छ।’

उनले माधव नेपाललाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरे। ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ,’ उनले भने।

उनले नेपाल समूह पनि ढिलोचाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए। 

‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुन सक्छ। अब धेरै ढिलो हुँदैन्। प्रधानमन्त्रीज्यू गठबन्धनमा आबद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ। यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो। त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहानुहुन्छ। राष्ट्रिय सरकार नै बनाउन चाहानुहुन्छ।’

मन्त्रिपरिषद् विस्तारबारे अहिले गृहकार्य भैरहेको उनको भनाइ छ। उनले भने, ‘कांग्रेस अरु दललाई बिच्काउन चाहँदैन। उहाँहरुलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौं। बरु, कांग्रेसले एक÷दुईवटा मन्त्रालय नै कम लिन्छ।’

उनले कांग्रेसको क्रियाशिल सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको सुनाए। उनले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे।

उनले महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर÷पुससम्म सम्पन्न गरिसक्ने पनि सुनाए। उनले प्रधानन्त्री तथा पार्टी सभापति देउवाको पछिल्लो समय हाइट बढेको र बिपीको स्थानमा पुग्न सक्ने पनि सुनाए। उनले प्रधानमन्त्री देउवा बन्नेबित्तिकै गच्छदारलाई उन्मुक्ति दिइएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे।

उनले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवी र खारिएको नेता भएको पनि सुनाए। उनले आफूहरुलाई नेतृत्वमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि सुनाए। उनले पार्टी सभापति देउवामा समन्वयकारी क्षमता भएको पनि सुनाए। 
 

प्रकाशित मिति: १७:०६ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्