‘तिम्रो नमस्कार भगवानसम्म पुगोस् !’
हिल्दूम नदीमा सात छाप्रामा सातवटा घट्ट घुमिरहेका थिए। स्याउजस्तै गाला भएकी एउटी युवती घट्टमा फापरको ओइरो हालिरहेकी थिइन्। ‘बहिनी एउटा फोटो खिच्छु है,’ मैले सोधेँ। ‘पर्दैन, फोटोसँगै माया पनि गयो भने के गर्ने नि ?’काठमाडाैं, साउन १६ : भर्खरै ओलम्पिक (सन् २००८ मा चीनमा भएका) खेल सकिएको र तिब्बतमा ‘स्वतन्त्र तिब्बत अभियान’ले खैलाबैला मच्चिएकाले विदेशीलाई तिब्बत छिर्ने ढोका बन्द गरेको जानकारी पाइयो, हुम्लामै। तिब्बत प्रवेश अनुमति नपाएपछि कैलाश–मानसरोवर पुग्ने कुरै भएन। तिब्बतीद्वार खुलेको भए हुम्ला हुँदै त्यहाँ पुग्ने विदेशीको ताँती चल्थ्यो।
जिल्लाका सम्पूर्ण कार्यालयका काम–कारबाही एक महिनामा केलाउनपर्ने बाध्यताले मैले त्यताको यात्राका लागि १०–१२ दिन छुट्ट्याउन सकिनँ। अविरल बर्सिरहेको हिउँले बाटोघाटो अवरुद्ध थियो।
‘खास कैलाश त रल्लिङ हो रल्लिङ। तिब्बतमा पर्ने कैलाश त रल्लिङ पछिको पो हो,’ हुम्लाका धेरै मान्छेको मुखबाट सुनेँ, ‘रल्लिङ आस्थाको शैलाधिप हो। आशाको शैलशिखर हो। उमंगको शैलकूट हो। शीतोपचारको अखण्ड शीताद्रि हो।’
त्यसो हो भने किन खेर फालौँ यो अवसर ? रल्लिङ जाने निधो भयो।
फेरि हुम्लाभर हिमपातको ओइरो चल्यो। हुम्ला एयरपोर्ट चिराचिरा भयो। रल्लिङ पुग्ने सपना पहिरोमा पुरिने हो कि ? एउटा अव्यक्त डरले छोपिरह्यो मनलाई।
‘जान सकिन्छ र ? हिउँले बाटैमा अप्ठेरो पार्ने हो कि ?’ महिला विकास अधिकृत विष्णुमाया पौडेलजीले अघिल्लो दिनै आशंका पोख्नुभयो। ‘हिमवर्षा रोकियो भने जसरी पनि जानुपर्छ है,’ विष्णुजी र उच्च पहाडी गरिबी निवारण परियोजनाका सदस्यसचिव जंगबहादुर रोकायाको कुरा मिल्यो। जिल्ला विकास समितिकै विशाल बोहोरा र सुमन भण्डारी पनि हाम्रो यात्रालाई सहवरण गर्न चाहनुहुन्थ्यो। अपराह्न २ बजे रल्लिङका लागि रन्को छाड्ने सल्लाह थियो। पौने २ हुँदा पानी दर्कियो।
केहीबेरमा प्रकृति साम्य भइन्। हिमधारा हराए। हाम्रो समूहमा बरगाउँ घर भएकी महिला कार्यकर्ता निमा लामा पनि थपिइन्। स्थानीय व्यक्ति, स्रोत र साधनलाई समेट्न सकियो भने सरल र सुखदायी बन्छ यात्रा।
‘यात्रा समूहका कसैलाई पनि दुःख दर्दको छायासम्मले नछोओस्,’ विष्णुजी र निमा बहिनीले पुकारा गर्नुभयो हिमालतिर फर्केर। यात्रामा पुरुषहरू भन्दा नारीहरू बढी व्यवस्थित हुन्छन्। विष्णुजीले पनि यात्राको लागि खाजा तयार गर्नुभएको रहेछ। हामीलाई समेत छाताको जोहो गर्नुभएको रहेछ। निमा बहिनीकै सल्लाहमा हामी सबैैले माउन्टेन सुज, बाक्लो ज्याकेट र बाक्ला कपडा पहिरिएका थियौँ।
घरी छोप्ने घरी बिलाउने कुहिरोको चर्तिकला भने चित्र बनाइरहेथे घाम छायाको।
‘आहा कति राम्रा गेडाहरू मुगा उनेर राखेजस्ता, खान हुन्छ निमा ?’ बाटा छेउभरि फलिरहेका राता गेडातिर इंगित गर्दै सोध्नुभयो विष्णुजीले। ‘किन नहुनु, केटाकेटीमा घोडा चराउन जाँदा कत्ति खान्थ्यौँ हामी,’ निमाले एक गेडा टिपेर कुप्लुक्क मुखमा हाल्नुभयो। ‘सेप्लिङ’ भन्नुहुँदो रहेछ निमाहरूले। ‘कुइयाँसु’ भन्नुहुँदोरहेछ राजनजीहरूले। ‘यसको चिया असाध्यै स्वादिलो हुन्छ,’ विशालजी बोल्नुभयो।
‘छ्याग्भुलो’ (नमस्कार) मेरोअगाडि हिँडिरहेकी निमाले अलिकति झुकेर अभिवादन गरिन्। विपरीत दिशाबाट आइरहेका बूढा बाले भने, ‘छ रिङ छ्याग्लामा कोज्याग्ला फूल’ (तिम्रो नमस्कार भगवानसम्म पुगोस्)।
अभिवादन फर्काउने शब्दले म हैरान भएँ। कति गहिरो अर्थ ! आफूभन्दा ठूला मान्छेलाई सम्मान व्यक्त गर्दा त्यो ‘भगवान’सम्म पुगोस् भन्ने विश्वास र कामना। सत्य जेहोस्, यो दुनियाँ विश्वास र कामनामै टिकेको छ।
बूढाबाको साथमा आएकी १० वर्ष जतिकी छुनमुने बच्चीलाई मुसार्दै निमाले सोधिन्– ‘यबु होता ?’ (सञ्चै छौ?) अघिल्तिर उभिएको हिमालमा जूनको किरण छरिएझैं बन्यो बच्चीको मुहार। ‘अभिवादन साटासाट गर्ने कति राम्रो चलन,’ मैले विष्णुजीलाई भनेँ। बूढाबा नाताले निमाका ससुरा पर्ने रहेछन्। उनीहरू हाम्रो विपरीत दिशातिर लागे।
हुमाने खोला पुग्नै लाग्दा एउटी हजुरआमा र त्यस्तै १४–१५ वर्षकी नातिनी अघि बढिरहेको भेट्यौँ।
‘आमा कता हिँड्नुभयो ?’ मैले सोधें।
‘बुराउँसे जान लागेको,’ आमाको जवाफ।
‘कति वर्ष हुनुभयो ?’ फेरि प्रश्न।
‘पाँच बीस पुग्न पाँच वर्ष बाँकी छ,’ ९५ वर्षीया आमा उकालोमा ठमठमी हिँडिरहनुभयो। आमालाई भेट्न हामीलाई हम्मे प¥यो।
पिठ्युँमा कुटुरो बोकेकी बहिनी हजुरआमासँगै टुकुटुकु उकालो काट्दै थिइन्। जंगल पूरै डालेचुकका पोथ्राले ढकमक्क थियो। मैले एकमुठी डालेचुकका गेडा टिपें र चपाउँदै अघि बढें।
हुमाने खोला तर्नेबित्तिकै अजंग पहाडको काखमा डो¥याइरह्यो, हामीलाई गोरेटो बाटोले। हिउँले पहिरो गएछ। माथिबाट ढुंगा खस्दै थिए। हिँड्दा हिँड्दै पहिरो खस्यो भने प्राण पखेरु उड्न बेर थिएन।
वरिपरि हिमालहरू हाँसिरहेका थिए। पारि पहाडबाट हेर्दा सिमकोटलाई ढकमक्क फक्रेको आलुबखडाका बोटले घेरेजस्तो देखिएको थियो।
निकै उकालो थियो, हामी थाकेका थियौँ।
जंगजीले एकैछिन बस्ने कुरा गरेपछि हामी एउटा बिसौनीमा बस्यौँ।
‘यो मेरो बारीमा रहेको ७० वर्षअघिको बोटबाट फलेको स्याउ,’ झन्डै कालाजामुनजस्तो कलेजी रंगका स्याउ दाना झोलाबाट निकाल्नुभयो जंगजीले। सबैले कटकटी टोक्यौँ। साँच्चै लालमोहनकै चास्नीमा डुबाएका जस्ता गुलिया थिए ती। दुई स्याउ पेटमा हुलेपछि पेट पुरै अघायो, शरीरमा ताजापन फैलियो। स्याउ खाँदै वरपरका दृश्य क्यामेरामा कैद गरेँ मैले।
बुराउँसे गाउँ पुग्दानपुग्दै एउटा नाकजस्तो मोड आयो। मोडमा तीनवटा साना साना बौद्ध गुम्बा शान्तिको वायु फैलाइरहेका थिए। मोडबाट एक ढलो सिमकोटतिर फर्केको थियो, अर्को ढलो बुराउँसे र हिल्दूम गाउँ बोकेर पूर्वतिर फर्केको थियो। ती मध्ये बुराउँसे माथितिर र हिल्दूम तलतिर गजधम्म बसिरहेछन्। ती दुवै गाउँबाट अझ खोंचतिर लाग्ने हो भने पञ्चमुखी हिमालको आसपासबाट सेतो सर्प हामफालेझैं ओर्लिरहेछ हिल्दूम नदी।
बुराउँसे र हिल्दूमको पारिपट्टी अजंगको पहाड उभिएको छ। पहाडको मध्यभागमा १३ घर मात्र टाँसिएको लाङदुक गाउँ छ। मोडबाट हिल्दूम खोला, पहाडहरू, हिमालहरू, रानीवनमा रहेको रणशुर गुल्मका चिटिक्क परेका घर, सिमकोटको आदि, अन्त्य, तल, माथि र बेशीमा बगिरहेकी कर्णाली सबै आँखाको छेवैमा आउँथे।
घडीमा ४ भन्दा बढी बजेको थिएन, तर एक्कासि अँध्यारो बन्यो वातावरण। कुहिरोको आडमा अवतरित भयो साँझ। सिमसिम पानी बर्सन थाल्यो। मेघको गर्जनले हाम्रो होसहवास ठेगानामा नभएजस्तो भयो। ६ जना यात्रु, तीन छाता। दुई दुई जनाका दरले छाताको आश्रय लिँदै अघि बढिरहनुपरेको थियो। साँघुरो बाटो भएकाले दुईजना सँगै हिँड्न पनि नमिल्ने। हामीहरू निथ्रुक्कै भिजेर बुराउँसे पुग्यौँ। गाउँ भेटेपनि ओत कहाँ लाग्ने अत्तोपत्तो थिएन। नौला मान्छे छिरेकामा बेजोडले भुक्दैथे गाउँभरिका कुकुरहरू। कुनै घरमा हुत्तिँदै छिरौँ भने भोटे कुकुरले एक गाँसमा स्वाहा पारिदिन बेर थिएन। गाउँ वर्षाले रुझ्दैथ्यो, तर मान्छेको चालचुल केही थिएन।
बुराउँसे गाउँ भेट्नेबित्तिकै बाटोछेउकै घरको पिँढीमा ओत लाग्यौँ हामी। त्यहाँ नौवटा स–साना बाच्छाबाच्छी पनि ओत लागिरहेका थिए। झन्डै तीन फिट अग्ला ती बाच्छाबाच्छी एकै आमाले लहरै जन्माएकाझैं लाग्थ्यो। तिनीहरू मान्छेको तातो छाम्दै हामीसँग टाँसिन्थे। हामीहरू तिनीहरूले कुल्चने वा गहुँत गोबरले फोहोर पारिदिने डरले परतिर घँचेट्थ्यौँ। मान्छेहरू हाम्रा मित्रहरू हुन् भन्ने राम्रो चिनेका छन् गाईवस्तुले। हामीहरू भने सधैं तिनीहरूसँग फाइदा लिन्छौँ र उनीहरूलाई नै जोखिममा फसाइरहेछौँ।
घनघोर पानी बिदा हुँदै गएपछि बुराउँसेबाट ओरालो लागियो। गाउँका बाटा, पर्खाल र कान्लाहरू गल्र्यामगुर्लुम् ढलेका छन्, बाटो हो कि ढुंगाको बगर भनी भेउ पाउन गाह्रो छ। बुराउँसे गाउँबाट हिल्दूम खोलासम्म ओरालो हिँड्नुपर्ने थियो। पाइला पाइलामा पहिरा नौला बनेर ब्युँतँदै थिए। त्यो उकालो ओरालोको यात्रा मेरो लागि नौलो र आनन्ददायक थियो।
‘सर त हुम्लीभन्दा पनि खतरा हुनुहुँदोरहेछ लागना (पहाड) नाघ्न ! भीर, पहिरो खोलो जेसुकैलाई पनि छलेर हिँड्न जान्ने,’ सुमन भाइले मलाई हौस्याउनुभयो।
‘अब हुम्लामै राख्नुपर्छ सरलाई पनि, यस्तो मजाको मान्छेलाई कहाँ छोड्नु,’ जंगजीले अझ छर्नुभयो न्यानो।
साँझको बेला। दुई डाँडाबीचको खोंचमा बगिरहेको हिल्दूम नदी। पानीको स्यारस्यार साम्य भएको छैन। हिल्दूम नदीमा सात छाप्रामा सातवटा घट्ट घुमिरहेका थिए। ओत लाग्न मिल्छ कि भन्ने आशले विशालजी र म एउटा घट्टे छाप्रोमा छि¥यौँ। स्याउजस्तै गाला भएकी एउटी युवती घट्टमा फापरको ओइरो हालिरहेकी थिइन्। हामी सरासर भित्रँदा तिनी असमञ्जसमा परिन्।
‘बहिनी एउटा फोटो खिच्छु है,’ मैले घट्ट र बहिनीको तस्बिर खिच्न खोजेँ।
‘पर्दैन, फोटोसँगै माया पनि गयो भने के गर्ने नि ?’ अलि लजाए जस्तै गरेर बहिनीले तीर हान्ने जवाफ फर्काइन्।
‘मायाको रंगले सजाएर लैजाउँला नि फोटो, हुन्न ?’ मेरो जवाफमा बहिनी हाँसिन्।
त्यही मौका पारेर मैले तस्बिरमा कैद गरें उनलाई। पछिपछि आइपुग्नुभयो साथीहरू। हामी बाहिरियौँ। बहिनीले घट्टेछाप्रोको ढोकाबाट हामीलाई हेरिरहिन्। नौला खालका मान्छेहरू देख्दा निकै उत्सुक देखिएकी थिइन् बहिनी।
हिल्दूम खोला नाघेपछि पारिपट्टि डाँडामा माथितिर बुराउँसे र तलतिर हिल्दूम गाउँ टुक्रुक्क बसिरहेका देखिए। गाउँ वरिपरि फापर, चिनो, कागुनु, मार्से, कोदो बालीको पहेंलो, हरियो र रातो रंगे संयोजन मनोरम देखियो। बीचबीचमा सूर्यमूखी फक्रँदा ताराहरू माझ जून चम्केझैं लाग्दैथ्यो। चुली, ओखर, स्याउ र आरुका बोटले रंगीन वातावरणमा इन्द्रेणी फुलाउँदै थिए। पारि देखिने सिमकोट हिल्दूम र बरांैंसेका घरहरूबाट बत्तीको उज्यालो उम्रँदै थियो। त्यसबेला लाङ्दुक गाउँ छोडिसकेका थिए हाम्रा पाइलाहरूले।
‘भोक लाग्यो नि सर, अब खाना खाऊँ खाजालाई खेर फाल्नु पनि भएन’– बोल्नुभयो विष्णुजी।
‘साँझ परिसक्यो, खाने र ?’– जागेको भोकको परवाह नगरी बोलें म।
‘खाजा खान्न भन्नुहुन्न, गाउँमा जान्न भन्नुहुन्न’– सुमन भाइको मुखबाट निस्कियो टुक्का।
एक छेउ बसेर हामीले खाजा खायौँ– आलु फ्राइ, बन्दामा डालेचुक हालेको अचार, सेल, पुरी।
रछ्यानको मूलाझैं हलक्क हल्क्यो साँझ। लिमाटाङमा पुगेर बास बस्ने हाम्रो योजनालाई बुराउँसेमा वर्षेको पानीले पखालिसकेको थियो। लिमाटाङ पुग्न अझै दुई घन्टा हिँड््नुपथ्र्यो। ‘अब हिँड्न गाह्रो हुन्छ, म जेठानीलाई फोन गर्छु, आज बरगाउँको मेरै घरमा बसौं,’ उपाय सुझाइन् निमा बहिनीले।
‘बरगाउँ पुग्न रल्लिङ जाने बाटोबाट आधा घन्टा झर्नुपर्छ, भोलि फेरि आधा घन्टा उक्लनुपर्छ, बरु तोर्पा गाउँमा बसौं, बरगाउँ नजाऊँ,’ जंगजीको आग्रह।
‘आधाघन्टा हिँडे पनि आफ्नो घर भनेके आफ्नै हो। सर उहाँदेखि आउनुभएको छ। आफ्नो घरमा भए जसरी बस्दा पनि सुविधा हुन्छ,’ हिल्दूमको कञ्चन पानीझैं निमा बहिनीका आत्मीय आवाज ओर्लियो।
‘ठीक छ बहिनी, पीर नगर्नुस्। तपाईंको घर हाम्रै त हो नि। बसुँला कुनै दिन। बाटो छोडेर बरगाउँ जाँदा भोलि धेरै बाटो उकालो चढ्नुपर्छ। आज बाटा छेउमै बसौँ। यात्रामा अप्ठेरोलाई पनि सप्ठेरो मान्नुपर्छ,’— तोर्पातिरै तर्किने राय रह्यो जंगजीको।
भीरमा ढुंगो गुडेझैं तीन बहिनीहरू माथिबाट खुरर्र दौडँदै आए। हाम्रो अघिल्तिर पुगेपछि खित्का छोडेर हाँसे। जाड भाषाको उनीहरूको कल्याङमल्याङ कुन चराको नाम हो पत्तो भएन। ‘बहिनीहरू कताबाट ?’ मैले रोकें।
१८–२० की फूलमुखी बहिनी लजाउँदै उभिइन्। दुईवटी १३–१४ का कोपिला कुमारीहरू फूलमुखी बहिनीलाई थाँक्रो बनाएर काँक्रोझैं झुण्डिए र लज्जावती बने। वार्ता साटासाट भयो।
‘हामी लिमाटाङबाट आको। भोलि लामाहरू रल्लिङ जाँदैछन् उनीहरूलाई नै खर्च पु¥याएर आको।’
‘हामीहरू पनि पुग्न सकौंला त आज लिमाटाङ ?’
‘आज त सक्तैन, रात परिसक्यो, भोलि पुग्छ।’
‘घर कहाँ हो त ?’
‘लान्दूक हो, अँध्यारो भयो, तपाईहरू पनि हामीकहाँ नै बस्नु।’
‘भो बहिनी, फर्केर के जानु, हामी माथितिरकै गाउँमा बस्छौँ।’
‘लौ त है हामी गयौँ।’
बहिनीहरू फेरि भीरमा गुडेको भकुण्डोझैं ओरालो झरे। उनीहरू तल पुगुञ्जेलसम्म हाँसोको मुस्लो माथिसम्म उक्लिरह्यो।
लान्दूक र तोर्पा गाउँ बीचको मोड कटेपछि सिमकोट, बुराउँसे, हिल्दूम, स्याम्ने जस्ता सबै बस्तीहरू छेकिए। हातमा रहेको सेलफोनको नेटवर्क बिलायो। पूर्व उत्तरमा नजिकै देखियो रल्लिङ हिमाल। शिरपट्टि सगबगायो पञ्चमुखी हिमाल। दायाँ बायाँ नाम नै थाहा नभएका हिमाल चाँदीको पर्खालझैं चम्किरहे। झम्केसाँझको त्यो अँध्यारोमा उज्यालो भनेकै हिमचहक थियो त्यतिखेर।
तलतिरबाट एउटा आकृति हुत्तिँदै आयो। ‘कता जानु हुँदैछ ?’ नजिक आइपुगेपछि बोल्यो त्यो आकृति।
‘रल्लिङ जान लागेको। लिमाटाङमा बास बस्ने विचार थियो। रात प¥यो,’ जंगजीको जवाफ।
‘ए भाञ्जी रहिछिन् नि,’ तोर्पा गाउँका लामा रहेछन् ती दाइ। साएनोले मामा पर्दारहेछन् निमा बहिनीका।
केहीबेर लामादाइ र निमा बहिनीबीच जाड भाषामा के के कल्याङमल्याङ भयो, हामीले बुझेनौँ।
‘यहाँबाट डेढ घन्टा हिँडेपछि मेरो घर पुगिन्छ, आज उतै जाऊँ,’ लामादाइको प्रस्ताव।
‘त्यति माथि किन जानु, तोर्पामा बास पाइएला नि आज त्यतै बसौँला,’ जंगजीको जवाफ।
हामी छुट्टियौँ।
तोर्पा गाउँ पुग्दा गाउँलेको खलबल सुनियो। लामादाइले गोरखाली (सरकारी कर्मचारी जनाउने अर्थमा) पाहुना आउँदैछन् भनेपछि क–कसको घरमा पाहुना राख्ने भन्ने कचहरी चलेको रहेछ। कचहरीमा महिला, पुरुष दुवै थरी थिए। कर्मचारीहरू गाउँ पुगे भने गाउँलेले सल्लाह गरेर कर्मचारीलाई खानपान र बसोबासको व्यवस्था गर्नुपर्ने परापूर्व कालदेखिको चलन अझ टुटेको रहेनछ हुम्लामा। आफैंले तरान नभेटेको बेला कर्मचारीलाई कसरी खुवाउने पियाउने गरुन् बिचरा हुम्लीहरूले।
‘तपाईंहरूलाई स्वागत छ है हाम्रो गाउँमा,’ एक अधबैंसेले बोले। त्यो न्यानो आत्मीयताले हाम्रो थकाई आधा मेटियो।
तोर्पा गाउँका दाजुभाइ, दिदीबहिनीले हाम्रो समूहलाई दुई भागमा बाँडे। पुरुष चार जनालाई प्रेमबहादुर लामाको घरमा र दुई महिलालाई अर्की दिदीको घरमा लाने विषयमा दुई दिदीहरूबीच हानथाप भयो। दुवैजना आफैं नलगी नछोड्ने जिद्धीमा। बल्ल एक दिदीलाई सम्झायौँ। विष्णुजीहरू लमिनी दिदीको माथिल्लो घरतिर लाग्नुभयो। हामी झ¥यौं– प्रेमबहादुर दाइको पछिपछि उहाँकै घरतिर।
आखिर गाउँ भनेको गाउँ नै हो। अझै पनि सुधोपन छ, आत्मीयता छ, मानवता छ। ‘साँझका पाहुना देवता बराबर भन्ने भावना अचेल झन् झाँगिएको छ। सहरमा पाहुनाको परिभाषा पैसाले तलमाथि पारिसक्यो, आत्मीयता रछ्यानमा कुहिसक्यो। न चिनाजानी। न लेनदेन। विना स्वार्थ तोर्पावासीको स्नेह हामीभरि पोखिएकामा हृदयदेखिनै पुलकित बनेँ म।
पाखैमा टासिएजस्तो प्रेमबहादुर दाइको घरमा लिस्नुबाट छाना, छानाबाट पाँड, पाँडबाट घरमा पसिने रहेछ। ‘लेक जानेबाटो ढुंगो न माटो’ भनेझैं हरेक तलामा उक्लन ओर्लन एक एक वटा काठे लिस्नु ठड्याइएको हुन्छ परम्परागत हुम्ली घरहरूमा। एउटा मात्र काठमा मुस्किलले खुट्टा टेक्न मिल्ने खुट्किलाहरू बनाइएका हुन्छन्। न समात्ने ठाउँ, न पुरै पैताला टेक्न मिल्ने खुट्किलाहरू। तैपनि सुरिलो रुखबाट सुरुर्र लोखर्के ओर्लेझैं लिस्नुबाट ओहोरदोहोर गर्दछन् त्यहाँका मान्छेहरू।
घरभित्र न्यानो थियो। मझेरीमा धुँवा सुरक्षित रूपमा बाहिर फ्याँक्ने चिम्नी सहितको फलामे चुल्होमा आगो बलिरहेको थियो। चुल्होमाथि किटलीमा तातेको पानीले बाफ छोड्दै थियो। चारै भित्तामा काठका कलात्मक ¥याकहरू सजाइएका थिए। ¥याकभित्र खण्ड खण्डमा पकाउने भाडाकुँडा, थाल, कचौरा, प्लेट सजाएर राखिएको थियो। बाहिरबाट घर सामान्य लागे पनि घरभित्र सम्पन्न र सफा देखिन्थ्यो। चुल्होनजिकै दोचा लगाएकी लमिनी भाउजू भान्छाको काम गर्दैहुनुहुन्थ्यो। दाइले भाउजूसँग चिनाजानी गराउनुभयो। हामीले अभिवादन साटासाट ग¥यौँ। दाइले सफा गुन्द्रीमाथि गलैंचा बिच्छ्याउनुभयो। हामीले भिजेका हाम्रा ज्याकेटहरूलाई तारमा झुन्ड्यायौँ र सन्तोषको श्वास फेर्दै बस्यौँ।
प्रेमबहादुर दाइ र अरु साथीबीच पहिलेदेखिनै चिनाजानी रहेछ। त्यसैले पनि गाउँमा बस्न सजिलो भएको थियो। होटल, लज र रेस्टुरेन्ट नपाइने त्यस्ता ठाउँमा स्थानीयको साथ पाइयो भने मात्र सजिलो हुन्छ।
‘गाउँमा मीठोमसिनो छैन, तातोपानीले प्यास मेट्नुहोस्,’ भाउजू मायालु स्वरमा बोल्नुभयो र हाम्रो अघिल्तिर तिब्बती चिया राखिदिनुभयो।
‘भाउजु यो राख्नुहोस्’– विशालजीले दुईवटा चाउचाउ भाउजूको अघिल्तिर राखिदिनुभयो।
‘पर्दैन, किन चाहियो र, झोलामा राख्नुहोस्, भोलि बाटामा खानुुहुन्छ।’
हामी सबैैको आग्रहपछि भाउजूले चाउचाउ थन्क्याउनुभयो। पाहुना लाग्न जाँदा उपहार लैजाने चलन राम्रै्र हो। उपहारले पाहुना र घरबेटीको सम्बन्धमा प्रगाढता ल्याउँछ। जापानीहरूले पनि उपहारलाई असाध्यै महŒवका दृष्टिले हेरेको भेटेको छु मैले।
‘लाङदुक र तोर्पा गाउँहरूलाई आधुनिक गाउँमा परिणत गर्दै छौँ हामी,’ तोर्पा गाउँको अनुहार फेरिन लागेकामा उज्यालो पोतिएको छ प्रेमबहादुर दाइको मुहारमा।
‘हामी गाउँलेहरू असाध्यै मिलेका छौँ। सबैै मिलेपछि नराम्रो केही हुनेरहेनछ। विकास आयो भने शहर भन्दा त गाउँ नै रमाइलो नि,’ प्रेमदाइको आशा थियो।
बैंशमा धेरैतिर घुमफिर गरिसक्नुभएका उहाँ गाउँमा आफू जस्ता धेरै छन् भन्दै हुनुहुन्थ्यो।
हिमाली गाउँ तोर्पाले नजिकैको खोलाबाट बिजुली उत्पादन गरेर जगमग बनिरहेथ्यो। एक महिना अघिदेखि टेलिभिजन प्रसारणको पहुँच मिलिरहेथ्यो। गाउँघर सफा सुग्घर राख्ने र सुधारिएको प्रविधिबाट खेतीपाती गर्ने जस्ता कार्यमा तोर्पाले तीव्रता अँगालिरहेथ्यो।
गहिरो थाल आकारको तर थालभन्दा अलि सानो काँसको याङ्जीमा खाना पस्केर हाम्रो अघि लस्करै राखिदिनुभयो भाउजूले। उच्छट्ट भोक र थकाईमा फाँपरको रोटी, भाँगो र सूर्यमुखीको अचार जत्ति खायो झन् झन् स्वादिलो।
तामाङ भाषामा के के बोल्दै ढोकाबाट भित्रिनुभयो एउटी महिला। उहाँको साथमा १३ वर्षको एउटा छोरो थियो। उहाँहरू भाउजूको नजिकै बस्नुभयो। याङ्बुटी रहेछ उहाँको नाम। हेर्दा भाउजू र उहाँ दिदीबहिनी जस्तो लाग्ने। नातामा प्रेमबहादुर दाइको काकी पर्नुहुँदोरहेछ उहाँ।
भाउजू र याङ्बुटी अनुहार र पहिरन दुवैमा उस्तै उस्तै लाग्थे। दुवैले ठूलाठूला राता मुगाको माला, नीलो रंगको तुथो, मुगाको बीच बीचमा मोती पहिरेका थिए। कपालमा सरदारजीको फेटा जस्तै ऊनको नातो बानेका थिए। मुगाका तीन–तीनवटा मालाको बीचमा दुवैले ठूला ठूला जन्तर झुण्ड्याएका थिए। म त्यहाँका दृश्यलाई क्यामेराभित्र तह लगाउँदै थिएँ। खिच्ने बित्तिकैको आफ्नो फोटो हेर्न पाउँदा असाध्यै खुशी हुनुभयो याङ्बुटी र भाउजू।
‘डिजिटल क्यामेरामा यस्तै हुन्छ,’ अथ्र्याउनुभयो प्रेमबहादुर दाइले।
हाम्रो लागि पाँडमा ओछ्यान तयार भएछ। बाक्ला गलैंचा र फेरुवाको तीन पत्रमा घुस्रेपछि आफूमाथि नै हिउँ परे पनि चिसोले भेट्न सक्ने सम्भावना थिएन।
‘बिहान पानी प¥यो भने रल्लिङलाई यतैबाट दर्शन गरेर फर्कनुपर्छ कि कसो सर ?’ सुमन भाइ भोलिको योजना बुन्दै हुनुहुन्थ्यो।
‘त्यसै गर्नुपर्ला नि जाने उपाय नभएपछि के गर्नु,’ मुखले त बोलें तर मनले पटक्कै त्यसो भन्न मानेको थिएन।
भोलिको घाम अघिल्तिर कोही नउभियोस् पर्खाल बनेर– तन्नेरी बतास चुम्दै कामनाको डसनामा लम्पसार परेँ म।
(७ असोज २०६५)