Kathmandu Press

कसकाे पोल्टामा पर्ला भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि ? 

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बु उपाधिका हकदार बनिसकेका छन्।
कसकाे पोल्टामा पर्ला भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि ? 

काठमाडौं, साउन १६ : सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपालको सिजन ३ अन्तिम चरणमा आइपुुगेको छ। 

आगामी शनिबार यो सिजनको ग्रान्ड फिनाले हुँदैछ। जजहरू दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङका टिमबाट शुक्रबार एकएकजना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेका लागि चुनिएका छन्।

यो सिजनमा को सर्वोत्कृष्ट ठहरिने भनेर संगीतप्रेमी दर्शकमाझ चासो र चर्चाको विषय बनेको छ। कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण बीचमा केही समय रोकिएको यो सिजन पछिल्लो समय अलि खुला भएपछि प्रसारण गर्न थालिएको हो।    

टिम दीपबाट दार्जलिङ निवासी आर्यन तामाङ उत्कृष्ट दरिएका छन्। सो टिमबाट बुटवल निवासी गोविन्द पुन भने भ्वाइस यात्राबाट बाहिरिएका छन्। भ्वाइसमा ‘कान्छा छोरा’ भनेर चिनिएका आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा उछिनेर घर पठाइदिएका हुन्।  

टिम प्रमोदबाट अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा रहँदै आएका किरण गजमेरले बाजी मारेका छन्। किरणले फाइनलका लागि आफ्नो ठाउँ सुरक्षित गर्दा सिक्किमेली रवि गहतराजले भ्वाइसको स्टेजबाट बिदा हुनुपरेको छ। सिजन ३ मा दर्शकहरूबाट सर्वाधिक रुचाइएका किरण र रवि एउटै टिममा पर्नु दुर्भाग्य नै साबित भयो। किनकि यी दुईका लागि दर्शकहरुको समर्थन लगभग बराबरीजस्तै थियो। 

टिम राजुबाट बाग्लुङकी तारा श्रीश मगरले फाइनल यात्रा तय गरेकी छन्। उनले काठमाडौंका सोनाम शेर्पालाई भोटिङमा पछि पारेर फाइनल राउन्डका लागि आफ्नो यात्रा सुरक्षित बनाएकी हुन्। सोनाम पप जन्रमा निकै उत्कृष्ट ठहरिएका थिए। तर पनि उनले तारालाई पछि पार्न सकेनन्। तारा पनि आफ्नो निखारिएको गायनले दर्शकको मन जित्न सफल छिन्। जसले गर्दा अगाडिको यात्राका लागि उनलाई सहज भयो।  

टिम तृष्णाबाट खोटाङवासी ज्वाला राई भाग्यमानी ठहरिए। उनले काठमाडौंकी अफ्रिता खड्गीलाई फाइनलमा पुग्नबाट रोकिदिए। दुवैले प्रस्तुति भने उत्कृष्ट नै दिएका थिए। रियालिटी सोको मापदण्डअनुसार राम्रो गर्दागर्दै पनि बाहिरिनुपर्ने स्थिति पनि रहँदै आएको छ।

गत साता आठजनाले दिएको प्रस्तुति हेरेर एसएमएस र अनलाइनमार्फत शुक्रबार ८ बजेसम्म स्वदेश तथा विदेशका दर्शकले भोट गरेका थिए। त्यसैका आधारमा चारजनाले उपाधिका लागि थप यात्रा तय गर्न पाउँदा चारजनाको सिजन ३ को यात्रामा पूर्णविराम लागेको थियो।

सिजन थ्रीका लागि भोट अपिल गर्नेगरी आज (शनिबार) को एपिसोडमा उत्कृष्ट चार प्रतियोगीले अन्तिम प्रस्तुति दिँदैछन्। आर्यन, किरण, तारा र ज्वाला चारैजना सिजन ३ को उपाधि प्राप्तिका लालायित देखिन्छन्।

त्यसका लागि आज दमदार प्रस्तुतिका लागि मिहिनेत गरिरहेका छन्। उनीहरुले दिने आजको प्रस्तुतिले उपाधि रक्षाका लागि निश्चय नै ठूलो अर्थ राख्नेछ।

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बु उपाधिका हकदार बनिसकेका छन्। 

दर्शकबाट अत्यधिक रुचाइएको यो सिजन हिमालयन टेलिभिजन र द भ्वाइस अफ नेपालकै अफिसियल युट्यब च्यानलबाट प्रसारण भइरहेको छ। सुरूका दुई सिजन भने एपीवान टेलिभिजनबाट प्रसारण गरिएको थियो।  

यो सिजनका थुप्रै एपिसोडले युट्युब टेन्डिङमा पनि पर्न सफल भएका थिए।  

प्रकाशित मिति: १६:२७ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्