अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीबीच छलफल
काठमाडौं, साउन ११ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन्।अर्थमन्त्री शर्माले पूर्वअर्थमन्त्रीहरू...
काठमाडौं, साउन ११ : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन्।
अर्थमन्त्री शर्माले पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शङ्करप्रसाद कोइरालासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका आधारमा उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आफूले इमान्दार प्रयास गर्ने बताए।
उनले कोरोनाबाट सिर्जित समस्याले प्रतिकूल प्रभाव पारेको भन्दै सबैको साथ र सहयोगबाट नै चुनौतीलाई छिचोल्न सकिने उल्लेख गरे।
कोरोना महामारीका कारण अर्थतन्त्रको परिदृश्य गतिलो नदेखिएकाले सरकारले सोही बमोजिम आर्थिक नीति तय गर्नुपर्ने पूर्वअर्थमन्त्रीहरुको सुझाव थियो।
यस्तै, पूँजीगत खर्चमा हुनु नसक्नु अर्थतन्त्रको अर्को चुनौती भएकाले यसमा विशेष ध्यान दिन आग्रह गर्दै उनीहरूले त्यसका पछाडि मन्त्रालयगत समस्या हो वा अर्थमन्त्रालयको कमजोरी हो भन्नेबारे समीक्षा गर्न आग्रह गरे।
उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तथा अनुत्पादक क्षेत्रमा हुने सार्वजनिक खर्च कटौतीमा ध्यान केन्द्रित गर्नसमेत उनीहरूको जोड थियो।











