नृत्योत्सवमा लोपोन्मुख नृत्यसँगै भरतनाट्यम र कत्थकको जुगलबन्दी
काठमाडौं, असार २२ : काठमाडौंको राष्ट्रिय नाचघरमा शनिबार घुङ्गघुरुको छमछम ताल गुञ्जियो। छिमेकी राष्ट्र भारतको चर्चित नृत्य भरतनाट्यम र कत्थकको जुगलबन्द....

काठमाडौं, असार २२ : काठमाडौंको राष्ट्रिय नाचघरमा शनिबार घुङ्गघुरुको छमछम ताल गुञ्जियो। छिमेकी राष्ट्र भारतको चर्चित नृत्य भरतनाट्यम र कत्थकको जुगलबन्दीले नेपाली दर्शकलाई मन्त्रमुग्ध बनायो।
एस्थेटिक डान्स स्टुडियोले आयोजना गरेको तीन दिने नेपाल नृत्योत्सवमा नेपाल र भारतका नृत्य प्रस्तुत गरिएका थिए। बिहीबारदेखि सुरू भएको डान्स फेस्टिबलको अन्तिम दिन शनिबार क्लासिकल डान्सफर्मको कत्थक र भरतनाट्यमको प्रस्तुति राखिएको थियो।
भारतकी चर्चित भरतनाट्यम नृत्याङ्गना अरुपा लहिरी, नेपाली कत्थक नृत्याङ्गना लीना मालाकार र स्वामि विवेकानन्दबाट निधि मिश्रले मनमोहक नृत्य पस्केका थिए।
त्यस्तै, अन्तिममा १५ दिने वर्कसपबाट आएका नेपाली डान्सरले भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए।
नृत्योत्सवकी संचालिका नम्रता केसीका अनुसार युवापुस्तामा आफ्नो मोलिक, सांस्कृतिक नृत्य र गीतसंगितप्रतिको मोह बढाउन र सबै प्रदेशबीच सद्भाव बढाउनु उत्सवको आयोजना गरिएको हो।
‘हरेक प्रदेशबीच भौगोलिक रुपमा जति नै टाढा भएपनि यो महोत्सवमार्फत केही समयको लागि भएपनि सबैलाई एकै ठाउँमा ल्याएर एकअर्कामा कुराकानी आदानप्रदान होस, सदभाव होस भन्ने चाहेको थियौं र त्यो पायौं पनि। त्यसैले एकदमै खुशी छु,’ उनले भनिन्।
महोत्सवको सुरुआतमा सातै प्रदेशको लोक तथा पारम्पारिक नृत्य प्रस्तुत गरिएको थियो। जसमा प्रदेश १ बाट धिमाल जातिको पोया पोदा नाच, प्रदेश २ बाट पमरिया लोक नाच, प्रदेश ३ बाट कार्तिक नाच, भण्डकी प्रदेशबाट हनुमान नृत्य, प्रदेश ५ बाट थारु जातिको शाक्या पैया, कर्णाली प्रदेशबाट हुँड्के नाच र सुदूरपश्चिम प्रदेशबाट जिउनापुरु डेवडा नृत्य प्रस्तुत गरिएको थियो।
प्रायः सबै लोपोन्मुख अवस्थामा रहेको जनाएको छ। अहिले स्थानीय बासिन्दाले प्रयोगमा ल्यानउ छोडेको आयोजकले बतायो।
कार्यक्रम संचालिका केसीका अनुसार डान्सरहरु छलफल नगर्ने र खासै गर्न पनि नरुचाउने भएकाले महोत्सवको दोस्रो दिन नृत्यसम्बन्धी छलफल गरिएको थियो।












