पाकिस्तान सेमिफाइनलमा पुग्ला? यस्तो छ अंकगणित
काठमाडौं, असार २० : आईसीसी विश्वकपको आजको खेलमा पाकिस्तान र बंगलादेश भिड्दै छन्। बंगलादेशको सेमिफाइनलको यात्रा सकिएको छ भने पाकिस्तानको गणितीय हिसाबले....

काठमाडौं, असार २० : आईसीसी विश्वकपको आजको खेलमा पाकिस्तान र बंगलादेश भिड्दै छन्। बंगलादेशको सेमिफाइनलको यात्रा सकिएको छ भने पाकिस्तानको गणितीय हिसाबले मात्रै बाँकी छ।
अंक तालिकाको शीर्षस्थानमा अष्ट्रेलिया छ। अष्ट्रेलियाको १४ अंक छ भने एक खेल बाँकी छ। त्यस्तै, भारतको १३ अंक छ भने अझै एक खेल खेल्न बाँकी छ। ईग्ल्यान्ड १२ अंकसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ। त्यस्तैले अष्ट्रेलिया, भारत र इंल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
न्यूजिल्यान्ड ११ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ। गणितीय हिसाबले न्यूजिल्यान्डको सेमिफाइनलको यात्रा अझै बाँकी छ। आजको खेलमा बंगलादेशलाई पराजित गरे पाकिस्तानको पनि ११ अंक हुनेछ। तर, त्यतिले पाकिस्तानको सेमिफाइनल यात्रा तय हुने छैन। त्यसका लागि पाकिस्तानले ठूलो अन्तरले पराजित गर्नुपर्नेछ।
अहिले न्यूजिल्यान्डको रनरेट ०.१७५ छ भने पाकिस्तानको माइनस ०.७९२ छ। पाकिस्तानलाई न्यूजिल्यान्डभन्दा रनरेटमा अगाडि आउनका लागि आजको खेलमा यति धेरै रनले जित्नु पर्नेछ कि त्यसका लागि चमत्कार नै गर्नुपर्छ।
बंगलादेशले पहिले ब्याटिङ गर्यो भने पाकिस्तानको सेमिफाइनलको यात्रा गणितीय हिसाबले पनि सकिनेछ। किनकि, पाकिस्तानले एक बल नगर्दै जित्नुपर्नेछ। पाकिस्तानले पहिले ब्याटिङ गर्यो भने गणितीय हिसाबले सेमिफाइनल पुग्ने सम्भावना रहन्छ। त्यसका लागि पाकिस्तानले बंगलादेशलाई तीन सय १६ रनले हराउनु पर्नेछ।
आईसीसीका अनुसार, पाकिस्तानले बंगलादेशलाई तीन सय १६ रनले हराएपछि मात्रै सेमिफाइनल पुग्नेछ। शुक्रबार दिउँसो ३ः१५ बजे लर्डसमा पाकिस्तान र बंगलादेश भिड्नेछन्।











