Kathmandu Press

देउवाको पाँचौँ प्रधानमन्त्रीत्व : अवसर र चुनौती दुवै

सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको मुलुकको ४३ औँ प्रधानमन्त्री बनेका छन्। ११ वर्षको उमेरदेखि राजनीतिमा होमिएर विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा उदाएका देउवाले पाँचौँपटक प्रधानमन्त्री हुने अवसर पाएका छन्।
देउवाको पाँचौँ प्रधानमन्त्रीत्व : अवसर र चुनौती दुवै

काठमाडौं, असार २९ : सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको मुलुकको ४३ औँ प्रधानमन्त्री बनेका छन्। ११ वर्षको उमेरदेखि राजनीतिमा होमिएर विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा उदाएका देउवाले पाँचौँपटक प्रधानमन्त्री हुने अवसर पाएका छन्।

नेकपा एमालेभित्रको आन्तरिक झगडा, कोरोनाले अर्थतन्त्रलाई शिथिल बनाएको र जनमानसमा ओलीले सृजना गरेको निराशा फर्काउन उनले सपथ भएको दिनदेखि नै ‘फुल गियर’मा सरकार दौडाउनुपर्ने देखिन्छ।

निवर्तमान प्रधानमन्त्री केपी ओलीले भत्काएका जनताको मन मात्रै होइन, संवैधानिक र कानूनी प्रावधान पनि देउवाले पुर्नेपर्ने हुन्छ। राजनीतिमा समकक्षी नेताहरूभन्दा उमेर र अनुभव दुवैमा अगाडि रहेका देउवाले अहिलेको कठिन अवस्थामा आएको जिम्मेवारी सफल रूपमा वहन गर्दै लोकतन्त्रलाई अझै चलयमान बनाउने जनअपेक्षा छ।

यसअघि २३ जेठ ०७४ मा चौथोपटक मुलुकको सत्ताको बागडोर सम्हाल्दै देउवाले केन्द्र, प्रदेश र बाँकी रहेको स्थानीय तीनै तहका निर्वाचन गराएर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गराएका थिए। त्यसको चार वर्षपछि फेरि देउवा निवर्तमान प्रधानमन्त्री केपी ओलीले लिकबाहिर पुर्‍याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई लयमा फर्काउने जिम्मेवारीमा आएका छन्। यस पटकको सत्तारोहणमा पनि उनलाई अर्को वर्षदेखि सुरु हुने स्थानीय निर्वाचन हुँदै प्रदेश र केन्द्रको निर्वाचन गर्ने जिम्मेवारी हुनेछ।

संविधानको पूर्ण कार्यान्वयन, आर्थिक समृद्धि र कोरोनाको नियन्त्रणका साथै देउवासामु ओलीले विगारेका अन्तर्राष्ट्रिय सम्बन्ध पनि लयमा फर्काउनुपर्ने चुनौती छ।

सबैलाई मिलाएर लैजान सक्ने खुबी देउवाको सबल पक्ष मानिन्छ। सधैँ संयुक्त सरकार चलाएको अनुभवले पनि उनको मिलाएर लैजाने क्षमता प्रतिविम्बित हुँदै आएको छ।

एमाले र माओवादी केन्द्रको चुनावी सहकार्यका कारण आफ्नै पार्टी कांग्रेसले स्थानीय तह, प्रदेश र संघमा नराम्रो पराजय बेहोर्ने देख्दादेख्दै पनि संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न देउवाले कुनै ‘किन्तु’, ‘परन्तु’ गरेनन्। संघीय संसदमा २५ प्रतिशतभन्दा कम प्रतिनिधित्व रहने अवस्थामा पनि उनी बितेका करिब साढे तीन वर्षमा जिम्मेवार प्रतिपक्षको भूमिका वहन गर्नबाट विचलित देखिएनन्।

तत्कालका लागि उनले सबै पाटो बिर्सिएर कोभिड-१९ बाट पार पाउन संसारभरका मित्रराष्ट्रबाट खोप भित्र्याउने र नागरिकलाई सर्वसुलभ रूपमा उपलब्ध गराउने उनको प्रमुख कार्यभार हो। ओली सरकारले अगाडि बढाएका गैरसंवैधानिक अध्यादेश र विधेयकहरू फिर्ता लिएर संविधानको कार्यान्वयनमा ध्यान केन्द्रित गर्नु उनको अर्को कार्यभार हो।

को हुन् देउवा ?

डडेलधुराको पश्यगर्खा क्षेत्रमा बसोबास गर्ने रजवार परिवारका सन्तान हुन् उनी। देउवा थरलाई स्थानीय भाषामा रजवार पनि भन्ने गरिन्छ, जुन ठकुरीहरूको थर हो। उक्त थरका परिवारको पहिचान तत्कालीन राजा-रजौटाकहाँ जागिर गर्ने हो। राजा-रजौटा उन्मुलनपछि पनि उक्त परिवार आर्थिक-सामाजिक हिसाबले प्रभावशाली रह्यो। देउवाका पिता प्रसादसिंह गाउँका मुखिया थिए। प्रसादसिंहका जेठा छोरा हुन्, देउवा। साबिकको असीग्राम-३ रुवाखोला (हाल गन्यापधुरा गाउँपालिका)मा जन्मे, हुर्केका हुन्, देउवा।

उनले प्रारम्भिक शिक्षा गाउँमै लिए। एसएलसी भने छिमेकी जिल्ला डोटीको उच्चकोटस्थित सीताराम माविबाट गरेका थिए। त्यसपछि प्रवीणता प्रमाण पत्र तह (आईए) पढ्न काठमाडौं आए। उनका सहपाठी थिए, रामचन्द्र पौडेललगायत नेता। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक (बीए) गरे। फेरि कानूनमा स्नातक र समाजशास्त्रमा त्रिविबाटै स्नातकोत्तर गरे। सन् १९८९-९० मा बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्समा राजनीतिशास्त्रमा रिसर्च फेलो भएर एक वर्ष अध्ययन गरेका थिए।

२०२१-२२ सालदेखि सुदूरपश्चिम विद्यार्थी समितिको अध्यक्षका रूपमा देउवाको राजनीतिक यात्रा आरम्भ भएको हो। त्यही पृष्ठभूमिमा टेकेर उनी कांग्रेस भातृ संगठन नेविसंघको दोस्रो अध्यक्ष बने, जसको संस्थापक अध्यक्ष विपिन कोइराला थिए। निरन्तर नौ वर्ष अर्थात् ०३६ सालसम्म उनी नेविसंघको अध्यक्ष रहे।

२०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा प्रचार गर्ने क्रममा बीपीसँगै सुदूरपश्चिम पुगेका उनको जयजयकार भएको देखेर बीपी पनि प्रभावित बनेका थिए। त्यसपछि देउवा बीपीसँगै देशभरको चुनावी अभियानमा हिँडेका थिए। त्यसपछि देउवाको राजनीतिक उचाइ बढेको थियो।

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्