Kathmandu Press

साताका सात समाचार ५ मिनेटमा (भिडियाेसहित)

याे साता नेपाल वायु सेवा निगमलाई आधा मूल्यमा निजीकरण गर्ने निगम सञ्चालक समितिको निर्णय विवादमा रहँदै साताभर चर्चामा रह्यो। प्रतिनिधिसभा विघटन र एमाले अध्यक्ष ओली र नेता नेपालबीच सहमति भएको समाचारले पनि धेरैको ध्यानाकर्षण गरेको थियो।
साताका सात समाचार ५ मिनेटमा (भिडियाेसहित)

काठमाडाैं, असार २६: गत साता विभिन्न समाचारहरुले चर्चा पाए। त्यसमध्ये पनि नेपाल वायु सेवा निगमलाई आधा मूल्यमा निजीकरण गर्ने निगम सञ्चालक समितिको निर्णय विवादमा रहँदै साताभर चर्चामा रह्यो। काठमाडौंप्रेसले ब्रेक गरेको यो समाचारले साताभर नेपालका सम्पूर्ण मिडियाहरुमा प्रमुखताका साथ स्थान पायो।

यस्तै, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटले पनि यो साता समाचारमा राम्रै स्थान पायो। सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तथा वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति भएको समाचारले पनि साताको अन्त्यतिर धेरैको ध्यानाकर्षण गरेको थियो।

यी र अन्य समाचारसहित यो साता चर्चामा रहेका र महत्वपूर्ण स्थान पाएका साताका सात समाचारहरु पढ्नुहोस्ः

१) एक खर्बको वायु सेवा निगम ५० अर्बमा निजिकरण गर्ने षड्यन्त्र

नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने तयारी भइरहेको छ। झण्डै १ खर्ब सम्पति भएको निगमलाई ५० अर्ब मूल्यांकन गरि निजीकरण गर्ने प्रस्ताव सञ्चालक समितिले पारित गरिसकेको छ।

केपी ओली नेतृत्वको सरकार कामचलाउ भएका बेला हतारहतार निगमलाई निजिकरण गरि हवाई माफियाको हातमा सुम्पन खोजिएको भन्दै आक्रोशित कर्मचारीहरु चरणबद्ध आन्दोलनमा छन्।

गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएको थियो।

पूरा समाचार पढ्नुहाेस्:

२) प्रतिनिधिसभा विघटनविरुद्धको रिटः के होला सर्वोच्चको फैसला?

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा पक्ष–विपक्षको बहस सकिनुका साथै एमिकस क्युरीको पनि राय आइसकेको छ। बहसपछि अदालतले मुद्दालाई असार २८ सम्मका लागि ‘हेर्दाहेर्दै’मा राखेको छ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सर्वोच्चमा त्यसविरुद्ध रिट परेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशमेर राणासहित पाँच सदस्यीय संवैधानिक इजलासले २८ असारमा अर्को पेशी तोकेको छ।

असार २८ मै फैसला आउँछ या त्यसपछि मात्र भन्ने चासो सर्वत्र देखिन्छ । सर्वोच्चको फैसलापछि मात्र मुलुकको राजनीतिक कोर्स तय हुने भएकाले पनि चासोका साथ हेरिएको हो । प्रधानमन्त्री केपी ओली पक्षधर एमालेका नेता–कार्यकर्ताबाहेक सबैको अपेक्षा संसद् पुनःस्थापना हुनेमा देखिन्छ ।

पूरा समाचार पढ्नुहाेस्:

३) एमाले विवादः ओली–नेपाल सहमति हल्ला मात्र

सहमती जुटिसकेको हल्ला चलेपनि विभाजनको रेखा मेट्न प्रयासरत सत्तारुढ दल एमालेको १० सदस्यीय कार्यदल ठोस विषयवस्तुमा प्रवेश गर्न सकेको छैन। होटल म्यारियटमा बसेको ओली–नेपाल बैठक निष्कर्षविहिन रह्यो। ओली २०७५ जेठ २ गतेको पार्टी संरचना ब्युँताउन तयार नदेखिएपछि बैठक निष्कर्षविहिन भएको थियो।

एमालेका केही नेताहरुले सहमती भइसकेको दाबी गरेतापनि उपमहासचिव घनश्याम भुसालले १० दिनयता कार्यदलमा कुनै प्रगति नभएको स्पष्ट पार्दै उनीहरुको भनाइ गलत साबित गरिसकेका छन्। कार्यदल असफल भएपछि ओली–नेपाल वार्ता गराइएको टिप्पणी भइरहँदा कतिपय नेताहरुले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला प्रभावित पार्न एमाले अध्यक्ष ओलीले संवादको शृंखला चलाएको टिप्पणी पनि गरेका छन् ।

पूरा समाचार पढ्नुहाेस्:

४) दुई सातामा दोस्राेपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पछिल्लोपटक मूल्यवृद्धि गरेको दुई हप्ता पनि नपुग्दै गत असार २२ गते निगमले पुनः मूल्यवृद्धि गरेको हो।

प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि भएसँगै उपत्यकामा पेट्रोल १२९ रुपैयाँ र डिजेल तथा मट्टितेल ११२ रुपैयाँ प्रतिलिटर भएको छ। खाना पकाउने ग्यासको २५ रुपैयाँ बढेसँगै प्रति सिलिण्डर मूल्य १४२५ पुगेको छ भने हवाई इन्धन प्रति लिटर ८४ रुपैयाँ पुगेको छ।

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले प्रदर्शन गरिरहेका छन्।

पूरा समाचार पढ्नुहाेस्:

५) भेरोसेल खोपको दोस्रो डोज लगाइयो

कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएका व्यक्तिहरुलाई मंगलबारबाट बिहीबारसम्म दोस्रो डोज दिइएको छ। देशभरका ३ हजार ८ सय ९७ खोपकेन्द्रबाट भेरोसेल खोपको दोस्रो डोज दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि नेपालमा कुल २५ लाख ७४ हजार ७ सय १५ जनाले कोभिडविरुद्धको खोपको पहिलो डोज लगाएका थिए पभने त्यसमध्ये ५७ हजार ३ सय ८० जनाले दोस्रो डोज लगाएका थिए। ललितपुर महानगरपालिकाले भने यही असार २७ र २८ गते दोस्रो डोज लगाइने जानकारी दिइएको छ।

पूरा समाचार पढ्नुहाेस्:

 ६) सुजिता भण्डारी मृत्यु प्रकरणको अनुसन्धान जारी

चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारी मृत्यु प्रकरणको अनुसन्धान चलिरहेको छ। असार ११ गतेदेखि हराइरहेकी भण्डारीको शव नजिकैको सामुदायिक वनमा असार २० मा भेटिएको थियो। हालसम्म एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिसकेको प्रहरीले उनको हत्या भएको हो वा आत्महत्या भनेर निष्कर्ष निकाल्न सकेको छैन।

शव परीक्षण सकिए हाल भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको छ। त्यसको नतिजा आएपछि मात्र केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले बताएका छन्। कथित सामाजिक अभियन्ताहरुले समूह खडा गरि अवरोध गरिरहेकाले अनुसन्धानमा बाधा उत्पन्न भएको र अनुसन्धानमा खट्नुपर्ने प्रहरी भिड व्यवस्थापन तथा कफ्र्यु कार्यान्वयनमा अल्झिनु परेकाले निष्कर्षमा पुग्न समय लागेको प्रहरीले बताएको छ।

पूरा समाचार पढ्नुहाेस्:

७) युरोकप र कोपा अमेरिकाको फाइनल खेल आइतबार हुँदै

युरोकप २०२० को फाइनलमा इटाली र इंग्ल्यान्ड भिड्ने भएका छन्। जारी प्रतियोगिताका हरेक खेल जित्न सफल इटालीले दाबेदार स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने इंग्ल्यान्डले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गर्दै इतिहासमै पहिलोपटक युरोकपको फाइनलमा प्रवेश गरेको हो। फाइनल खेल आइतबार राती १२ः४५ बजे वेम्ब्ली स्टेडियममा हुनेछ।

यस्तै, कोपा अमेरिका फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन्। ब्राजिल पेरुलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको थियो। कोपा अमेरिकाको फाइनल खेल आइतबार बिहान ५ः४५ बजे हुनेछ।

पूरा समाचार पढ्नुहाेस्:

प्रकाशित मिति: २१:२९ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्