हेर्दा हेर्दैमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा, बिहीबार पनि बहस हुने
काठमाडौं, असार ९ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब उक्त मुद्दामाथि बिहीवार (भोलि) पुनः बहस हुनेछ ।आज विपक्षी गठबन्धनका...
काठमाडौं, असार ९ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब उक्त मुद्दामाथि बिहीवार (भोलि) पुनः बहस हुनेछ ।
आज विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि पहिलो दिनको बहस सकिएको छ ।पहिलो दिन बहस गरेका आज पाँच कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिच्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री घोषणा गरिनुपर्ने उनीहरुको माग रहेको छ । सर्वोच्च अदालतले निवेदकहरूलाई बहसका लागि १५ घण्टाको समय तोकेको छ । आज झन्डै चार घण्टा बहस भएकाले अब ११ घण्टा उनीहरूले बहस गर्ने छन् । बहसका लागि निवेदक र विपक्षी दुवैलाई १५-१५ घण्टा समय छुट्याइएको छ । दुवै पक्षले भोलिसम्म इजलासमा बहस नोट बुझाइ सक्नुपर्नेछ । एमिकस क्युरी (अदालतका सहयोगी) मा रहेका चार जनाले आधा आधा घण्टामा बहस सक्नुपर्नेछ ।
गत जेठ २६ गते बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएपछि सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको छ ।











