Kathmandu Press

भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

काठमाडौं, असार २६ : नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन्।२०८औं भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली...
भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

काठमाडौं, असार २६ : नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन्।

२०८औं भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज  (इन्स) को भाषा-साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका एकीकरणकर्ता भएजस्तै आचार्यले भाषा-साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको बताए।

उनले सांस्कृतिक एकतामा जोड दिँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गराउन पहल गर्दै आएको पनि जानकारी दिए।

Hardik ivf

प्रतिष्ठानका पूर्व सदस्यसचिव डा. तुल्सीप्रसाद भट्टराईले भानुभक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय नेपाली जगत्मा बहुकोणबाट ख्यातिप्राप्त भएको जनाउँदै भानुभक्तले नेपाली जात र पहिचानलाई चिनाएको बताए।

सो अवसरमा प्रा डा ब्रतराज आचार्यले भानुको व्यक्तित्वबारे प्रकाश पार्दै भानुभक्तको लेखनीका माध्यमबाट युवा पुस्तामा साहित्य र भाषाको प्रवद्र्धनमा योगदान पुगेको बताए।

सहप्रा प्रभा भट्टराई आचार्यले भानुभक्त आध्यात्मिक र नैतिक चिन्तनयुक्त क्रान्तिकारी कवि भएको बताउनुभयो भने उपप्रा ज्ञानु अधिकारीले नारी दृष्टिकोणबाट हेर्दा भानुको ‘बधूशिक्षा’ केही आलोच्य भए सो कृति समाजको एक चित्र भएको तर्क राखे।

समितिका अध्यक्ष डा जानुका नेपालले भाषा साहित्यका क्षेत्रको प्रवर्धन र अध्ययन अनुसन्धानका लागि समाजले काम गर्ने बताइन्।

कार्यक्रममा प्राज्ञ डा देवी नेपाल र गायिका लोचन भट्टराईले भानुका रचना तथा प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव, २०७८ मा प्रथम र तृतीय स्थान हासिल गर्ने कविद्वय कविता राई र प्रकाश सिलवालले पुरस्कृत कविता वाचन गरेका थिए।

यस्तै भानुबारे मनमैजु माविका प्रधानाध्यापक रविना महर्जनले निर्माण गरेको भिडियो सामग्री प्रस्तुत गरिएको थियो । आदिकवि आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्