Kathmandu Press

अर्जेन्टिनाले जित्ला कोपा अमेरिका ?

पटक–पटक फाइनलमा पुगेपनि उपाधि जित्न असफल हुँदै आएको अर्जेन्टिना पुनः एक पटक फाइनल नजिक पुगेको छ । अर्जोन्टिना उपाधिका लागि ब्राजिलविरुद्ध उत्रँदै गर्दा धेरैको मनमा एउटा प्रश्न उब्जने गरेको छ– के अर्जेन्टिनाले उपाधि जित्ला ?
अर्जेन्टिनाले जित्ला कोपा अमेरिका ?

काठमाडौं, असार २६ : विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करण आइतबार बिहान ब्राजिल र अर्जेन्टिना भीडेसँगै सकिने छ। धेरैले यो फाइनललाई ‘ड्रिम फाइनल’ भनेका छन्।

ब्राजिल र अर्जेन्टिना विश्व फुटबलका महाराथी हुन् । त्यसैले यी दुईबीचको भीडन्तलाई ‘ड्रिम फाइनल’का रुपमा हेरिएको छ। कतिपयले यसलाई लियोनल मेसी र नेमारबीचको भीडन्तको रुपमा पनि हेरेका छन।

ब्राजिल कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन्स हो भने अर्जेन्टिना करिब तीन दशकदेखि उपाधिको खोजीमा छ। ब्राजिल र अर्जेन्टिना दुवै कलात्मक फुटबल खेल्न माहिर छन्। त्यसैले यी दुई महारथीबीचको यो भीडन्त रोमाञ्चक पक्कै हुने छ, त्यसमा पनि मेसी र नेमारको उपलब्धताले फाइनलमा थप रोमाञ्चकता थप्ने छ।

पटक–पटक फाइनलमा पुगेपनि उपाधि जित्न असफल हुँदै आएको अर्जेन्टिना पुनः एक पटक फाइनल नजिक पुगेको छ । अर्जोन्टिना उपाधिका लागि ब्राजिलविरुद्ध उत्रँदै गर्दा धेरैको मनमा एउटा प्रश्न उब्जने छ– के अर्जेन्टिनाले उपाधि जित्ला ?

यो प्रश्नको उत्तर दिन निक्कै गाह्रो छ । किनभने, उसले ब्राजिल जस्तो बलियो टिमलाई पन्छाउनु पर्ने छ। ब्राजिललाई हराउँदै उपाधि जित्नु अर्जेन्टिनाका लागि सहज पक्कै छैन।

टिटेको प्रशिक्षणमा रहेको ब्राजिलले लामो सयमदेखि राम्रो फुटबल खेलिरहेको छ। र, उसँग नेमार, कासिमिसो, थिएगो सिल्भाजस्ता अनुभवी खेलाडी छन् भने लुकास पक्वेडा, रिचार्लिसन, ग्याब्रियल बारबोसाजस्ता उत्कृष्ट खेलाडी पनि छन्। त्यसैले अर्जेन्टिनाले तीन दशकपछि उपाधि जित्ने हो भने उत्कृष्ट टिमविरुद्ध अझ उत्कृष्ट खेल्नु पर्ने छ। अर्थात् मैदानका सबै क्षेत्रमा आफूलाई अब्बल सावित गर्नुपर्ने छ।

मेसीका लागि किन महत्वपूर्ण छ कोपा ?

३४ वर्षीय अर्जेन्टिनी स्टार लियोनल मेसीका लागि यो सम्भवतः अन्तिम प्रतियोगिता हो। क्लब फुटबलमा सबै उपाधि जितिसकेका मेसी अन्तर्राष्ट्रिय उपाधिबाट भने वञ्चित। त्यसैले मेसीका लागि अन्तर्राष्ट्रिय उपाधि जित्ने यो भन्दा राम्रो अवसर अरु हुन सक्दैन। 

चार फाइनल खेल्दा पनि उपाधि जित्न नसकेका मेसीका लागि उपाधि जित्ने अन्तिम अवसर पनि हुन सक्छ । मेसीले यसअघि सन् २००७, २०१५ र २०१६मा कोपा अमेरिका फाइनल खेलेका थिए भने सन् २०१४मा विश्वकप फाइनल खेलेका थिए। यी चारै पटक उनको टिम अर्जेन्टिना पराजित रह्यो।

कस्तो कोपामा अर्जेन्टिनी टिम ?

जारी कोपा अमेरिकामा स्टार खेलाडीले भरिएपनि जारी अर्जेन्टिनाले टिम गेम खेलिरहेको छ। त्यसमा पनि मुख्य केन्द्रमा रहे उनै मेसी। र, उनले प्रत्येक खेलमा आफूलाई प्रमाणित गरेका छन्। चाहेका बेला गोल पनि गरिरहेका छन्, र साथी खेलाडीलाई पास पनि उपलब्ध गराएका छन्।

अर्जेन्टिना प्रतियोगितामा राम्रो त खेलिरहेको छ, तर डिफेन्स भने कमजोर छ । गोलकिपर इमिलिनो मार्टिनेजको प्रदर्शनले भने उसलाई राहत प्रदान गरेको छ। अग्रपंक्ति भने उसको गज्जबको छ, र थुप्रै विकल्प पनि । अग्रपंक्तिमा मेसीसँगै छन्, सर्जियो अगुएरो, लाउटारो मार्टिनेज, एन्जेल डि मारिया र रोड्रिगो डे पाउल। 

अर्जेन्टिनाको फाइनल यात्रा ?

कोपा अमेरिका समूह एमा रहेको अर्जेन्टिना समूह विजेताका रुपमा नकआउट चरणमा पुग्यो । जसमा उसले ४ खेलमा ३ जित र १ बराबरी खेल्यो । पहिलो चिलीसँग १–१ गोलको बराबरी खेल्यो । त्यसपछि दुई खेलमा उसले समान १-०को जित निकाल्यो । विपक्षी थिए, उरुग्वे र पाराग्वे । अन्तिम खेलमा कमजोर बोलिभियाविरुद्ध उसले ४–१को जित निकाल्यो ।

क्वार्टफाइनलमा उसले समूह बीको चौथो स्थनमा रहेको इक्वेडरको सामाना गर्‍यो । त्यो खेल उसले ३-०ले जित्यो । सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियाको चुनौति पेनाल्टी सुटआउटमा ३-२ले पन्छायो । निर्धारित समयको खेल भने १-१को बराबरीमा सकिएको थियो।

अर्जेन्टिनाले कसरी खेल्नुपर्छ ?

अर्जेन्टिना समूह चरणमा अपराजित रह्यो, तर उसको खेल भने प्रसंसा योग्य रहेन । त्यसैले त हो उसले सुरुआती तीन खेलमा तीन गोल मात्र गर्न सकेको छ। अन्तिम खेलमा उसले बोलिभियाविरुद्ध ४ गोल त गर्‍यो, त्यसलाई उत्कृष्ट खेल्यो भन्न मिल्दैन छ। किनभने आफैंमा बोलिभिया बलियो प्रतिस्पर्धी होइन, त्यसैले बोलिभियाविरुद्धको ४–१को नजितजा स्वभाविक नै थियो । 

उसका स्ट्राइकर निरन्तर फिनिसिङमा चुके। बलियो ब्राजिलविरुद्ध उपाधि भीडन्तमा उत्रँदा अर्जेन्टिनाले त्यो सुधार्नु पर्ने छ। प्रतियोगितामा विपक्षीविरुद्ध सुरुआतमै गोल गर्न सफल भइरहेको अर्जेन्टिनाले ब्राजिलविरुद्ध पनि त्यो गर्न सके उसलाई फाइदा हुने छ।

प्रकाशित मिति: १५:५९ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्