आइतबारदेखि सातामा ५३ अन्तर्राष्ट्रिय उडान
काठमाडौं, असार २५ : अब सातामा कुल ५३ अन्तर्राष्ट्रिय उडान हुने भएको छ। सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेसँगै साबिकभन्दा उडान संख्या...
काठमाडौं, असार २५ : अब सातामा कुल ५३ अन्तर्राष्ट्रिय उडान हुने भएको छ। सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेसँगै साबिकभन्दा उडान संख्या थपिएको हो।
यसअघि विभिन्न मुलुकमा सातामा दुई दर्जन मात्र उडान गर्नेगरी उडान तालिका तय भएको थियो। त्यतिबेला उडान खुला गरेका गन्तव्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नयाँ उडान तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा हुने दुई उडानमध्ये एउटा नेपाल एयरलाइन्स र अर्को एयर इण्डियाले गर्नेछन्। नेपाल एयरलाइन्सले बुधबार र एयर इण्डियाले सोमबार उडान गर्नेछन्।
युएई दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबर्इले आइतबार, बुधबार र शुक्रबार एकएक उडान गर्ने तालिका तय भएको छ।
कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एकएक उडानको अनुमति पाएका छन्। हिमालय एयरलाइन्सले त्यहाँ सोमबार, बुधबार र शनिबार उडान भर्नेछ।
हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी साताको चार उडान गर्ने अनुमति पाएको छ।
नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधबार र शनिबार उडान गर्नेछ। त्यहाँका लागि हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालम्पुर उडानको अनुमति पाएको छ।
टर्किस एयरलाइन्सले टर्कीको इस्तानबुलमा सोमबार, बिहीबार र शनिबार उडान गर्नेछ।
जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरी पाँच उडान र सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडानको अनुमति पाएको छ।
उडान तालिकाअनुसार एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान गर्नेछ र सिंगापुर एयर हरेक आइतबार काठमाडौं आउने तालिकामा उल्लेख छ।
होर्नुहोस् तालिका












