मुख्यमन्त्रीकै बस्तीको बेहाल, हिँड्दाहिँड्दै लड्छन बालबालिका
वीरगञ्ज, असार १५ : दुरदराजको गाउँ होइन, यि तस्बीर वीरगञ्ज महानगगरपालिकाकै हुन्। अझ यो गाउँमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित सात जना उच्च ओह....
वीरगञ्ज, असार १५ : दुरदराजको गाउँ होइन, यि तस्बीर वीरगञ्ज महानगगरपालिकाकै हुन्। अझ यो गाउँमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित सात जना उच्च ओहदाका व्यक्ति बस्छन्।
वीरगञ्ज–१२ र १३ जोड्ने सडकमै पर्छ यो मुर्ली नयाँ टोल। यहि सडकसँगै जोडिएको छ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको घर।
त्यस्तै, अर्को टोल राधेमाईमा प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवको घर छ। उनको घरसँगै सडक पारी वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको घर छ।
सडक अझै नजिक प्रदेश सभा सदस्य जन्नत अंसारीको घर पर्छ। लग्तै वडा नं. १३ का वडाध्यक्ष तुफान अंसारी आसिनको घर छ।
पश्चिमतर्फ वडा नं. १२ मा जिल्ला समन्वय समितिका प्रमुख नेक महम्मद अंसारी बस्ने घर छ। नजिकै वडा नं. १२ का वडाध्यक्ष रामदरस कुशवाहा बस्ने घर छ। तर उनीहरू सबै बस्ने वडाको जाने सडक चार महिनादेखि पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने गरेको छ।
यो सडकमा दैनिक हिडडुल गर्न गाह्रो भएको स्थानीय महमुद अंसारीले बताए। ‘सडक छेउमै घर पर्छ। बालबालिका लडेको देख्छु कहिले आफ्नै घरका सदस्य लडेर आउँछन्’ उनले गुनासो भने, ‘कतिपटक वडामा गयौँ, मेयरलाई भन्यौँ सडक जस्ताको त्यस्तै छ। खै कहिले बन्ने कुनै ठिगान छैन्।’
स्थानीय अखिलेश साह पनि सडक बिग्रेकाले बिहान पढ्न जाने विद्यार्थीलाई सास्ती हुने गरेको बताए। ‘खासगरी वृद्धबृद्धा र बच्चाहरूलाई यो बाटो हिड्न समस्या हुन्छ,’ उनले भने।
वीरगञ्जमा एशियाली विकास बैकको सहयोगमा अन्डर पास नाला निर्माण भईरहेको छ। सडकको बिच बाटो भएर निकालिएको नाला निर्माण तीन महिना अघि सकिएको थियो। तर, ग्राभेल हाल्ने तथा कालोपत्रे गर्ने काम नभएकाले स्थानीय बासिन्दा पीडित बनेका छन्।