Kathmandu Press

बाढी–पहिरोबाट कसरी जोगिने ?

खोला सर्प आकारमा बगेका हुन्छन् । खोलाले जहाँबाट दायाँबायाँ लाग्छन्, त्यहाँ कटान गर्न सक्छन् । खोलाले कटान गर्ने ठाउँमाथिको बस्ती पनि जोखिमयुक्त मानिन्छ । 
बाढी–पहिरोबाट कसरी जोगिने ?

हाम्रो भौगोलिक संरचना नै अप्ठेरो छ । त्यसैले हामीकहाँ विपद् आइरहने धेरै कारण छन् । जसमा धेरै वर्षा हुनु, खोलानाला थुनिनु साथै भूकम्प पनि पर्छ । भूकम्प आउँदा जमिन हल्लिएर विभिन्न ठाउँमा धाँजो फाटिएको हुन्छ । धाँजोबाट पानी छिरेर भित्री भाग कमलो भई पहिरो जान सक्छ । 

हाम्रो भू–भाग तीन भागमा विभाजित छ– तराई पहाड र हिमाल । बाढीको समस्या धेरैजसो समथर भागमा देखिन्छ भने पहिरो पहाडी र हिमाली क्षेत्रमा देखिन्छ । 

बाढी विशेषतः धेरै मात्रामा वर्षा हुँदा आउँछ । बाढीले कटान गर्दा वा माटो बगाउँदा पहिरो आउँछ । कहिलेकाहीँ पहिरो गएर खोलानाला थुनिन्छन् । पछि निकास भई लेदोसँगै बग्दा वरपर बढी क्षति पु¥याउने खतरा हुन्छ । किनभने लेदोले खोलाको खोँच पुरिएर पानीको धार अयन्त्र मोडिन सक्छ ।  

Hardik ivf

पहिरोको सही समयमै रोकथाम नगर्दा खोलानालाको अवस्थितिबारे जानकारी राखी उचित व्यवस्थापन नगर्दा बस्ती र खेतीपाती जोखिममा पर्छन् । 

सुरक्षित क्षेत्र 

सुरक्षित स्थान भन्नेबित्तिकै त्यो स्थानमा कुनै प्रकारका प्राकृतिक वा अप्राकृतिक क्रियाकलापबाट असर नपर्ने स्थान बुझिन्छ, त्यस्तो त हाम्रो भूभागमा कमै मात्रामा भेटिन्छन् । 

घर वा बस्तीको हकमा भन्नुपर्दा, बस्तीको तल्लो वा माथिल्लो भूभागमा कुनै पनि पहिरो र पहिरोका संकेत देखिएको छैन, खोला–खोल्सीबाट टाढा रही त्यसको व्यवस्थित निकास गरिएको छ, नदीनालाको उच्च सतहभन्दा माथि र खोला कटान हुन सक्ने क्षेत्रबाट टाढा बस्ती रहेको छ र भूकम्पबाट जोगिने गरी संरचना निर्माण गरिएको छ भने त्यस्तो बस्तीलाई सुरक्षित मान्न सकिन्छ । 

कतिपय असुरक्षित भनिएका क्षेत्रलाई पनि राम्रोसँग त्यसको विस्तृत अध्ययन गरी कारण र समाधानका उपाए अवलम्बन गरेर सुरक्षित बनाउन सकिन्छ । बस्ती जोगाउने प्रविधि वा उपाय धेरै छन् । जुन हाम्रो समुदायमा सुरु गर्न अत्यन्त जरुरी देखिन्छ । 

जोखिममुक्त र जोखिमयुक्त

स्थानीय तहले खोला छेउछाउमा ५०औँ वर्षपछि आउने बाढीलाई अनुमान गरेर मात्र घर तथा नयाँ संरचना बनाउन दिनुपथ्र्यो । तर, कतिले मापदण्ड पालना गरेका छन्, कतिले छैनन् । 

खोलामा पानी बग्दा पानीको सतह तथा त्यसले ओगट्न सक्ने भागको बारेमा अध्ययन नगरी बनाइएका नयाँ बस्ती अहिले उच्च जोखिममा छन् । प्रत्येक वर्ष बाढी आउँदैन, त्यसैले खोलाले ओगट्ने भागबारे अनुमान नगरी लापरबाही गर्छौं । जसकारण लामो समयपछि बाढी पहिरोको सिकार बन्छौँ । त्यसैले उच्च पहाडी भाग र खोलाका किनारमा बसाइएको बस्ती जोखिममा छन् । 

खोलानाला नजिक बनाएका संरचना र बस्ती, धेरै भिरालो ठाउँमा बसेका बस्ती उच्च जोखिममा हुन्छन् । बस्तीको तल्लो वा उपल्लो भागमा पहिरो वा ढुंगा खस्ने संकेत वा समस्या भएका ठाउँ पनि बढी जोखिममा हुन्छन् ।

मापदण्डविपरीत र प्राविधिक सल्लाह–सुझाबविना बनाएका अव्यवस्थित बस्ती वा संरचना पनि जोखिममा हुन्छन् । दीर्घकालीन अवस्थामा हुन सक्ने समस्याका बारेमा अध्ययन गरी बस्ती र संरचना बनाउनुपर्छ । अध्ययनविना बनाइएका अव्यवस्थित सडकका कारण मात्रै पनि बाढी–पहिरोको जोखिम बढेको पाइन्छ । 

अध्ययनका क्रममा मैले अव्यवस्थित पानी निकासीका कारण बस्ती जोखिममा भएको पाएको छु । यसबारे गाउँगाउँमा सूचना प्रवाह गरी त्यसको उचित व्यवस्थापन गर्न जरुरी छ । 

बस्तीको तल्लो तथा माथिल्लो भागमा पहिरो तथा चट्टान खस्ने सम्भावना छ भने उक्त क्षेत्र जोखिमयुक्त हो । बस्तीको माथिल्लो तथा तल्लो भागलाई खोलानालाले कटान गरेको छ भने पनि त्यस क्षेत्र जोखिमयुक्त हुन्छ । त्यस्तै, भिरालो ठाउँ पनि जोखिमयुक्त हुन्छन् । माटो भएको क्षेत्र कम भिरालो हुन्छ । ढुंगा अर्थात् चट्टान भएको स्थान अलि धेरै भिरालो हुन्छ । 

खोला सर्प आकारमा बगेका हुन्छन् । खोलाले जहाँबाट दायाँबायाँ लाग्छन्, त्यहाँ कटान गर्न सक्छन् । खोलाले कटान गर्ने ठाउँमाथिको बस्ती पनि जोखिमयुक्त मानिन्छ । 

जोखिममुक्त र जोखिमयुक्त बस्ती पहिचान गर्न प्राविधिक अध्ययन आवश्यक हुन्छ । ठाउँको विशेषता, बनोट, अवस्थिति वा भौगर्भिक अवस्थाका आधारमा अध्ययन हुनुपर्छ । 

सामान्यतः प्राकृतिक वा अप्राकृतिक क्रियाकलापबाट असर पर्ने र नपर्ने स्थान वा बस्तीका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने हुन्छ । जसमा बस्ती कस्तो भूभागमा अवस्थित छ, बाढी र पहिरो गएको अवस्था र आउन सक्ने सम्भावना के छ, खोला र खोल्सीको अवस्था र यसको कटानबाट हुन सक्ने क्षतिको सम्भावना के कस्तो छ, चट्टान र माटोको विशेषता (भौगर्भिक अवस्थिति) र पहाडको अवस्था (चिरा, प्वाल, पानी छिर्ने र नछिर्ने) कस्तो छ आदिबारे विश्लेषण गरिनुपर्छ । 

भौगोलिक हिसाबमा भन्नुपर्दा माटो र पानीको मिश्रण भएको स्थान पनि जोखिमयुक्त हुन्छ । रातो माटो पानीका कारण फुल्छ र पानीमा मिसिएर छिटै सलल बग्न थाल्छ । त्यसैले भिरालो स्थानमा रातोमाटो माथि बनाइएका बस्ती पनि जोखिमयुक्त हुन्छन् । 

माटोको प्रकारसँगै यसका गुण वा विशेषता फरक–फरक हुन्छन् । सबैभन्दा सानो कण भएका माटोले धेरै मात्रामा पानी सञ्चय गर्न सक्छ र पानीको मात्रा बढ्दै गएमा भार थाम्न नसकेर माटो पानीसँगै मिश्रण भई लेदो वा पहिरोको रूप लिन सक्छ, भिरालो क्षेत्रमा माटो मात्रै भएको स्थानमा घर बस्ती छन् भने भारी वर्षाको समयमा जोखिम हुन सक्छ ।

पहिरो आउन सक्ने संकेत 

ठाउँ अनुसार पहिरो आउन सक्ने संकेत फरक हुन सक्छन् । बस्ती वा आसपासका जमिनमा चिरा तथा धाँजो देखिनु, रुख वा बिजुलीका खम्बा अस्वाभाविक रूपमा ढल्कनु, पानीको मूलबाट वा जमिनबाट धमिलो पानी निस्कनु, खेत र बारीका गरा ढल्कँदै जानु, घरका झ्याल–ढोका एक्कासि र अस्वाभाविक रूपमा कसिनु वा ढल्किनु, बस्तीको आसपास खोलानालानजिक कटान हँुदै जानुलाई पहिरोको संकेतका रूपमा लिन सकिन्छ । 

बर्खामा लगातार पानी परेर माटो गल्ने अवस्था भएमा पनि पहिरो जाने सम्भावना हुन्छ । तसर्थ सबैमा सूचना प्रवाह गर्न र सबै सचेत हुन आवश्यक छ । यसो भए जनधनको क्षति कम हुन सक्छ । 

जथाभावी सडक निर्माण र जोखिम 

पछिल्लो समय विकासको लहर बढेको छ । गाउँगाउँ सडकदेखि विभिन्न भौतिक संरचना निर्माण हुँदै छन् । सडकका कारण कतै बस्ती बाक्लिएका छन् । 

मानवले निम्त्याएको विपद्मध्ये एक हो, जथाभावी सडक निर्माण । अधिकांश ठाउँमा सडक खन्दा अध्ययन गरिएको पाइँदैन । जथाभावी बाटो बनाउने तर पानीको निकासका लागि व्यवस्थित कुलो वा ढल नबनाउँदा पनि पहिरोको जोखिम बढ्छ । बर्खामा भेल बग्ने स्वाभाविक धार हुन्छ । सडक बनाउँदा त्यो धारमा परिवर्तन हुन्छ र सडकमै पानी बग्न थाल्छ । यसरी बगेको पानीले निकास नपाई बस्ती, कृषियोग्य जमिन अर्को खोला तथा खोल्सामा मिसिन पुग्छ, जसले कटान गरी पहिरो जाने जोखिम हुन्छ । 

त्यस्तै, नयाँ बस्ती बनाउँदा बर्खामा बग्ने पानीको प्रवाहलाई ध्यान दिइनुपर्छ । धेरै समय जग्गालाई बाँझो राख्दा पनि जोखिम हुन्छ । बाँझो राख्दा जमिनको हेरविचार नपुगी सानासाना पहिरो हुँदै ठूलो पहिरो जाने सम्भावना हुन्छ । 

बस्ती अध्ययनकै क्रममा जाँदा धेरैपटक धेरै ठाउँमा बाटोकै कारण अगाडि जान नसकेर अलपत्र परेका छौँ, पहिरोकै कारण गन्तव्यसम्म पुग्न नसकेर धेरै समय, स्रोत–साधन खपत भएको छ । 

पुराना पहिरोमाथिको बस्ती 

पुराना पहिराको थुप्राका बस्ती, बगर वा तटीय क्षेत्रमा रहेका बस्ती नेपालमा धेरै छन् । अनुसन्धान गर्ने हो भने धेरै क्षेत्र जोखिममा पर्न सक्छन् । धेरै बस्तीमा सुरक्षित उपाय अविलम्ब अपनाउन जरुरी छ । त्यस्ता बस्तीको पहिचान गरी जनमानसमा सूचना प्रवाह गर्नुपर्छ । यसो गर्न सके जोखिम कम गर्न सकिन्छ । 

गोरखा बजार पुरानो पहिरोमाथि बसेको सहर हो, पहाडी भू–भागमा रहेका धेरै बस्ती यस्तै ठाउँमा छन् । जमिन स्थिर अवस्थामा रहेको हुनाले कुनै समस्या देखिँदैनन् तर भारी वर्षा हँुदा वा नहँुदाको अवस्थामा पानी र ढलको राम्रो निकासी नभए खोलाखोल्सी कटान गर्दै खेतीयोग्य जमिन साथै भिराला ठाउँमा रहेका बस्ती जोखिममा पर्न सक्छन् । यसका साथै अरु कारणबाट पनि जोखिम हुन सक्छ । 

खोला–नदीदेखि बस्ती कति पर ? 

ठूलो वर्षाका बेला भेलले खोलाको क्षेत्र देखाएको हुन्छ । त्यही आधारमा ५०औँ वर्षपछाडि आउन सक्ने बाढी अनुमान गरेर बस्ती बसाउनुपर्छ ।

खोलाले ओगट्ने भाग ठाउँअनुसार फरक हुन्छ । त्यसैले बस्ती कति पर बसाउने भन्ने निश्चित भन्न सकिँदैन । खोलाको अध्ययन गरी त्यसले पार्ने प्रभावको बारेमा बुझेर मात्र कति टाढा बस्ती बसाल्ने भन्न सकिन्छ । 

प्रत्येक खोलालाई अध्ययन गरेर कति टाढा बस्ती तथा नयाँ संरचना बनाउन सकिन्छ भनी सरकारले तोकिदिनुपर्छ । तर, अहिले अध्ययन गरिएको अवस्था छैन । 

खोलाको छेउछाउमा बस्ती नबनाउँदा नै राम्रो हुन्छ । तर, बनाइसकेको अवस्थामा बाढी–पहिरो जान नसक्ने गरी सावधानी अपनाउनुपर्छ । 

खोलाबाट कति टाढा बस्ती बसाउनु ठीक वा सुरक्षितभन्दा पनि त्यस खोलाको वस्तुगत अवस्थाका बारेमा प्राविधिक जानकारी वा अध्ययनका आधारमा मात्र निर्धारण गर्न सकिन्छ । जस्तै ः बाढी आउन सक्ने सम्भाव्यता, नदी कटान हुने क्षेत्र वा कटान भएको क्षेत्र, भासिने क्षेत्र आदि । 

खोलानालाबाट बस्ती ३० मिटरभन्दा टाढा हुनुपर्नेछ भन्ने उल्लेख भएको पाइन्छ । यसको विषयमा स्थानीय स्थरमा अध्ययनको आधारमा क्षेत्र वा मापदण्ड निधारण गर्नुपर्ने हुन्छ । 

खोलानालाका छेउमा घर वा बस्ती न बनाउँदा नै बेस हुन्छ । बनिसकेको वा बनाउने अवस्थामा भए फेरि अध्ययनका गरेर मात्र निर्णय लिँदा सुरक्षित भइन्छ । 

नेपालमा धेरै बस्ती डाँडापखेराबाट बगर क्षेत्रतिर विस्तार भएको र हँुदै गरेको देखिन्छ । त्यस ठाउँको बारेमा सर्वसाधारण सबैमा पर्याप्त सूचना र जानकारी हुन जरुरी छ । यसले हुन सक्ने क्षति कम गर्न मद्दत गर्छ । 

मेलम्ची उदाहरण

यसपालि मेलम्चीमा कसैले नसोचेको बाढी आएको हो । पानी परेर मात्र आएको बाढीले त्यति धेरै क्षति हुन्न थियो । बजार क्षेत्रसम्म आउन सक्ने सम्भावना थिएन । अहिले लेदोले खोलाको सतह पुरिएकाले बस्तीमा असर पारेको हो । 

संरचना बनाउँदा खोलाकै छेउमा बनाइएको पाइन्छ । संरचना बनाउनुअगाडि नै सम्बन्धित निकायले त्यस्तो स्थानमा घर बनाउन पाइँदैन भनिदिएको भए आज बस्ती जोखिममा हुने थिएन । 

पुल बनाउँदा अलि अध्ययन गरेर ५०औँ वर्षसम्म बाढीको सम्भावनाका बारेमा अनुमान लगाएर उच्च तहमा बनाउनुपथ्र्याे । 

मेलम्ची र हेलम्बु क्षेत्रमा भएको घटनाका बारेमा धेरैले आफ्ना धारणा राखेका छन् । मेरो विचारमा, भारी वर्षाका साथै मेलम्ची खोलाको माथिल्लो भागमा धेरै पहिरो गयो र खोला थुनिने अवस्था आयो । पानी जम्मा भएर एक्कासि खोलाले ठूलो रूप लिएर बगर कटान गर्दै लेदो, गेग्रान, पात पतिंगर, काठ आदि बगाएको देखिन्छ ।

यसरी आउँदा सिधा धारमा बगेको इन्द्रावती खोलाले मेलम्ची खोला हुँदै आएको बाढी ठेलेर झनै मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति भएको आनुमान गर्न सकिन्छ । यस बारेमा विस्तृत रूपमा त्यस क्षेत्रको अध्ययन गरेर मात्रै के कारण र कसरी ठूलो बाढी गएको भनी भन्न सकिन्छ । 

(भूगर्भविद् भट्टसँग काठमाडौंप्रेसकर्मी सरिशा अछामीले गरेको कुराकानीमा आधारित ।)
 

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्